उपाध्यक्षका लागि न्याभको चुनाव, श्रेष्ठ विजयी !

उपाध्यक्षका लागि न्याभको चुनाव, श्रेष्ठ विजयी !


मेलबर्न, अष्ट्रेलिया ।

नेप्लीज एशोसिएसन अफ भिक्टोरियाको नयाँ कार्यसमितिको उपाध्यक्षका लागि निर्वाचन सम्पन्न भएको छ । सोमबार पाँच बजेसम्म मतदानको समय तोकिएको थियो । निर्वाचन आयोगले सार्वजनिक गरेको विवरण अनुसार मतदानमा कूल ४ सय ७० जनाले आफ्नो मत दिएका थिए । जसमध्ये ३ सय ३४ मतका साथ सुदिप श्रेष्ठलाई विजयी घोषित गरिएको छ । अर्का उम्मेद्वार प्रकाशकाजी थापाले १ सय १७ मत ल्याएका छन् । १९ जना मतदाताले यी दुबैलाई मत नदिने अर्थात् नन अफ अवोभमा मतदान गरेका थिए । 

४ सय भन्दा बढी विधानमा नै नलेखिएका विद्यार्थी सदस्यहरुको विषयमा विवाद चलिरहँदा मात्र ४१ प्रतिशत मतदान भएको छ । अधिकांस समय सर्वसम्मत नेतृत्व चयन भइरहँदा यस पटक चुनाव गराएको भएपनि न्याभले छनोट गरेको मतदान गराउने आईटी कम्पनीले निकै सरल रुपमा मतदान गर्ने व्यवस्था मिलाएको पाइएको थियो । मतदाताहरुले आफ्नो ईमेलमा प्राप्त गरेको कोडका आधारमा सजिलैसँग आफ्नो मत दिन सकेको प्रतिक्रिया दिएका छन् । 

वैधानिकताको विवाद 

न्याभको निर्वाचन सकिएर विजेता पनि घोषित भइसक्दा नयाँ कार्यसमितिको अध्यक्षमा एकिन्द्र तिमल्सिना, उपाध्यक्षमा सुदिप श्रेष्ठ, महिला उपाध्यक्षमा जेनिसा गौतम, कोषाध्यक्षमा यज्ञराज जोशी, चार सदस्यमा उज्वल अधिकारी, सुनील खड्का, निराजन रेग्मी र विराज थापा चयन भएको बताइएको छ । उपाध्यक्ष श्रेष्ठ बाहेक अन्य सबै एकमात्र उम्मेद्वारी परेका कारण सर्वसम्मत भएका हुन् । 

विधानले नै नचिन्ने सदस्यता विधामा ४ सय भन्दा बढीको नामावली सार्वजनिक भएपछि बढेको विवादले निर्वाचित पदाधिकारीहरुको वैधानिकतामा पनि प्रश्न उठाइदिएको छ । त्यस्तै सदस्यता लिएका र हाल भिक्टोरियामा नै बसोबास नगर्नेहरुको सवालमा पनि सदस्यता नवीकरण गरिएको अर्को विवाद उठेको छ । यस्तै नवीकरणका लागि आवेदन नै नदिएकाहरुको सदस्यता समेत शुल्क बुझाएर नवीकरण गरिएको विषय समेत विवादमै छ । यी विषयमा हामीले संस्थाका सचिवलाई विवरण उपलब्ध गराइदिन पत्राचार गरेका छौं । 

यस बाहेक पनि निर्वाचनको समयमा चुनाव सम्बन्धी जानकारी सही समयमा र उचित किसिमले उपलब्ध नगराएकोमा पनि संस्थाका पूर्वपदाधिकारीहरुले नै असन्तुष्टि जनाइरहेका छन् । चुनावको अघिल्लो दिन नै धेरैलाई मतदान गर्नका लागि कोडसहितको ईमेल पठाइएको थियो भने पछि यो प्राविधिक त्रुटी भएको भन्दै सच्याइएको थियो ।

केहीले कम मतदान हुनुको कारणका रुपमा पनि यसलाई हेरेका छन् । सामाजिक सञ्जालमा संस्थाका पूर्वअध्यक्षहरुले नै यसको गरिमा कायम हुन नसकेको भन्दै प्रश्नप्रतिप्रश्न गरेका छन् । संस्थाले भने आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छैन । विद्यार्थी सदस्य भन्ने नयाँ विधा निर्माण गरी उनीहरुलाई पनि मतदान गर्ने अधिकार हुन्छ भन्ने जिरह गरिरहेको संस्थाका पदाधिकारीले ति विद्यार्थीलाई पनि साधारण सदस्य कै विधामा समावेश गरी वेवसाईटमा रहेको मतदाताको नामावली पनि विनासूचना परिवर्तन गरेको समेत पाइएको छ । 

न्याभको वेवसाईटमा राखिएको मतदाता नामावलीमा विनासूचना परिवर्तन गरिएको छ । जसमा स्क्रिनसटमा देख्न सक्नुहुन्छ अघिल्लो पटक सार्वजनिक गरिएकोमा “जनरल मेम्बर”, “स्टुडेन्ट मेम्बर” र “लाईफ मेम्बर” गरेर विधा छुट्याएको थियो भने पछि केविसीखबरले विधानले नचिन्ने सदस्य सम्बन्धमा समाचार प्रकाशित गरेपछि यसलाई परिवर्तन गरी सबै सदस्यलाई एउटै विधामा राखेर पुनः अपलोड गरिएको छ ।

यी विविध कारणहरुले कतै कानूनी झमेलामा परेर संस्थाले फेरि अर्को मतदान गराउने अवस्था आउने त होइन ? समूदायका अगुवाहरुले चिन्ता व्यक्त गरेका छन् । 

यो पनि पढ्नुहोस् –

न्याभको मतदान सोमबार, ‘विधानले नै नचिनेका’ सदस्यको संख्या ४ सय बढी !