न्याभको मतदान सोमबार, ‘विधानले नै नचिनेका’ सदस्यको संख्या ४ सय बढी !

न्याभको मतदान सोमबार, ‘विधानले नै नचिनेका’ सदस्यको संख्या ४ सय बढी !


अष्ट्रेलियाको भिक्टोरिया राज्यमा रहेका नेपालीहरुको संस्था नेप्लीज एशोसिएसन अफ भिक्टोरियाको नयाँ नेतृत्व चयनका लागि सोमबार चुनाव हुँदैछ । चुनावको कार्यतालिका अनुसार शनिबार राति उम्मेद्वारी फिर्ता लिने समयसीमा थियो । यस समयसीमाभित्र सबै पदमा चाहिने मात्र उम्मेद्वारी परेपनि उपाध्यक्ष पदमा भने एकभन्दा बढीको उम्मेद्वारी आएका कारण सोमबार सदस्यहरुले मतदान गर्नैपर्ने भएको हो । यसअघि सर्वसम्मतिले नेतृत्व छनोट हुँदै आएको थियो ।

न्याभको कार्यसमितिमा जानका लागि खासै उत्साह नरहेको उम्मेद्वारीमा देखिएको उदासिनताले पनि देखाउँछ । यद्यपि उपाध्यक्ष पदमा भने दुईवटा निवेदन परेको छ । सदस्य पदमा पाँच जनाको उम्मेद्वारी दिनुपर्नेमा चार जनाको मात्र सदर भएपछि एकजना सदस्य पछि कार्यसमितिले नै खोजी गर्नुपर्ने अवस्था पनि एकातिर छ ।

न्याभले सार्वजनिक गरेको सदस्यको संख्या हेर्ने हो भने साधारण सदस्य संख्या ४ सय ४२ छ भने आजीवन सदस्य जम्मा २ सय ६ रहेको छ । ३० हजारभन्दा बढी नेपाली बसोबास गर्ने भिक्टोरियामा यो सदस्य संख्या अत्यन्त न्यून हो । मतदाताको नामावली प्रकाशित गर्ने क्रममा विधानले ४ सय २५ जनालाई विद्यार्थी सदस्य अर्थात् “स्टुडेन्ट मेम्बर” विधामा राखिएको छ । न्याभको विधान हेर्ने हो भने त्यस किसिमको प्रावधान देखिँदैछ । विद्यार्थी सदस्य भन्ने प्रावधान नै नभएको अवस्थामा यी सदस्यले भोट हाल्न पाउने हो वा होइन रु यो स्पष्ट छैन । तर, निर्वाचन आयोगका प्रमुख हेम दुलाल भने सदस्यको सवालमा आफुहरुको कुनै भूमिका नहुने, न्याभले सदस्यका रुपमा जसलाई पठायो उनीहरुलाई नै समावेश गरेर निर्वाचन गराउनुपर्ने अख्तियारी रहेको बताउँछन् ।

उपाध्यक्षका दुई उम्मेद्वार जसका कारण सर्वसम्मत नेतृत्व चयन नभई निर्वाचन गर्नुपर्ने भएको छ त्यसमध्येका एक प्रकाशकाजी थापा आफुले विगतमा भएका अनियमितता देखेको र त्यस्तो फेरि नहोस् भन्नका लागि उम्मेद्वारी दिएको बताउँछन् । केविसीखबरसँगको सम्पर्कमा आएका उनले विद्यार्थीलाई सदस्यता दिँदा कतिपयलाई थाहासम्म नदिइएको बताए । उनले भने, “विद्यार्थी सदस्य भनेको छ त्यस्तो व्यक्ति उहिल्यै पीआर भएर घर किनेर बसिरहेको छ । यसको सिधा अर्थ अघिल्लो पटक आफ्नो डाटामा रहेका व्यक्तिहरुलाई कुनै एक व्यक्तिले शुल्क भुक्तान गरेर सदस्यता बनाइएको हो भन्ने पुष्टि हुन्छ । विधानका अनुसार जाने हो भने उनीहरुले भोट हाल्न पाउनु हुँदैन ।”

न्याभको विर्नाचन कमिटीले सार्वजनिक गरे अनुसार अध्यक्ष पदमा डा। एकिन्द्र तिमिल्सिनाको मात्र उम्मेद्वारी परेको छ । यसअघिको दुई कार्यकालमा कोषाध्यक्षको भूमिका निर्वाह गरेका उनको टिमबाट उपाध्यक्षका रुपमा सुदिप श्रेष्ठलाई अघि सारिएको थियो । सुदिप श्रेष्ठ यसअघि पनि न्याभमा रहेर काम गरिसकेका व्यक्ति हुन् । उपाध्यक्ष पदमा नै प्रकाशकाजी थापाले पनि उम्मेद्वारी दिए । उता महिला उपाध्यक्षमा जेनिसा गौतमको उम्मेद्वारी छ भने कोषाध्यक्षमा यज्ञराज जोशी, सदस्यहरुमा उज्वल अधिकारी, सुनील खड्का, निराजन रेग्मी, विराज थापाको उम्मेद्वारी परेको छ । विधानतः उपाध्यक्ष बाहेक सबै सर्वसम्मत भइसकेका छन् ।

हामीले सदस्यको संख्या लगायतका विषयमा संस्थाका सचिव आलोक पौडेललाई ईमेलमार्फत जानकारी माग गर्दा उनले कुनै जवाफ दिएका छैनन् । अर्कोतर्फ चुनावमा जाने नै अवस्थामा पुगिसकेपछि मतदातालाई चुनावी प्रक्रियाबारे प्रशिक्षित गर्ने काम भने भएको छैन । भोट हाल्नका लागि प्राविधिक जानकारी यो समाचार तयार पार्दासम्म आईतबार विहान १० बजेसम्म केही सार्वजनिक भएको छैन ।