क्यानबेरा । अस्ट्रेलियामा अवैध हतियारको कारोबार नियन्त्रण गर्न सञ्चालन गरिएको देशव्यापी कारबाहीका क्रममा दर्जनौँ बन्दुक तथा हतियारका पार्टपुर्जा र सयौँ जेल ब्लास्टर बरामद गरिएको छ।
अस्ट्रेलियन बोर्डर फोर्स (एबीएफ) ले अक्टोबर १८ देखि २५ सम्म सञ्चालन गरेको विशेष अभियान तथा त्यसअघि गरिएका कारबाहीका क्रममा देशभर ५० भन्दा बढी सम्बन्धित कारबाही गरेको जनाएको छ। यस क्रममा एबीएफको नेतृत्वमा ११ वटा र अन्य साझेदार निकायको नेतृत्वमा १० वटा खानतलासी कारबाही सञ्चालन गरिएको थियो।
एबीएफको नेतृत्वमा गरिएका कारबाहीबाट २७ वटा बन्दुक बरामद भएका छन्। बरामद हतियारमा आफैँ निर्माण गरिएका बन्दुक, सटगन, एयर राइफल तथा नक्कली हतियारसमेत रहेका छन्। त्यस्तै, ५८ वटा सप्रेसर, हतियारका पार्टपुर्जा, निर्माणमा प्रयोग हुने उपकरण, गोलीगठ्ठा, ७२८ वटा जेल ब्लास्टर र ३६ लाख जेल राउन्ड बरामद गरिएको एबीएफले जनाएको छ।
कारबाहीका क्रममा अवैध लागूऔषध र नगदसमेत फेला परेको छ। केही घटनामा जफत तथा चेतावनीसम्बन्धी सूचना जारी गरिएको छ भने गम्भीर प्रकृतिका कसुरसहित विभिन्न विषयमा अनुसन्धान जारी रहेको जनाइएको छ।
अवैध हतियारको जोखिम नियन्त्रण गर्न अस्ट्रेलिया र न्युजिल्यान्डका प्रहरी तथा संघीय निकायहरूबीच सहकार्य हुँदै आएको छ। यसका लागि गठन गरिएको नेसनल इलिसिट फायरआर्म्स वर्किङ ग्रुपले अवैध हतियारसम्बन्धी गतिविधिविरुद्ध रणनीतिक तथा परिचालनस्तरमा संयुक्त प्रयास गर्दै आएको छ।
एबीएफका अनुसार आर्थिक वर्ष २०२५–२६ मा भन्सारमा घोषणा नगरिएका ३ हजार ४०० भन्दा बढी बन्दुक तथा हतियारका पार्टपुर्जा पहिचान गरिएको छ। यो संख्या अघिल्लो आर्थिक वर्ष २०२४–२५ को तुलनामा ३० प्रतिशतभन्दा बढी हो।
अस्ट्रेलियाको Customs (Prohibited Imports) Regulations 1956 अनुसार कानुनी स्वीकृतिबिना बन्दुक, हतियारका पार्टपुर्जा, सहायक उपकरण, म्यागजिन, गोलीगठ्ठा तथा प्रतिकृति वा नक्कली हतियार आयात गर्नु अपराध हो। आयातका लागि आवश्यक अनुमति हतियारको प्रकार, सञ्चालन प्रणाली, म्यागजिन क्षमता तथा जडान गरिएका पार्टपुर्जा र उपकरणअनुसार फरक हुन सक्छ।
एबीएफकी सुपरिटेन्डेन्ट मेल स्टुअर्टले समन्वयात्मक रूपमा गरिएको यस्तो अभियानले आपराधिक गतिविधि नियन्त्रण गर्न र भविष्यका अनुसन्धानका लागि आवश्यक सूचना संकलन गर्न सहयोग पुग्ने बताइन्।
उनका अनुसार अवैध हतियार तथा पार्टपुर्जाको आयातमाथि केन्द्रित कारबाहीले सीमा सुरक्षा र गुप्तचर निकायको निगरानी छल्न खोज्ने व्यक्तिहरूको गतिविधि पहिचान गर्न मद्दत गर्छ।
अस्ट्रेलियाको सीमा सुरक्षा र समुदायको सुरक्षाका लागि अवैध हतियार तथा तिनको निर्माणसँग सम्बन्धित जोखिम नियन्त्रण गर्न एबीएफले साझेदार निकायसँग सहकार्य गर्दै कारबाही जारी राख्ने जनाएको छ।

प्रतिक्रिया