मेलबर्न, अस्ट्रेलिया। भिक्टोरियामा आयोजना हुने नेपाल फेस्टिभल २०२७ को तयारी सुरु भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) एससीसी भिक्टोरियाले नेपाली समुदायका अगुवा, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सरोकारवालासँग सामुदायिक परामर्श कार्यक्रम सम्पन्न गर्दै फेस्टिभलको औपचारिक मिति घोषणा गरेको हो।
एनआरएनए भिक्टोरियाका अनुसार नेपाल फेस्टिभल आगामी १३ मार्च २०२७, शनिबार आयोजना हुनेछ।
फेस्टिभलको तयारीलाई व्यवस्थित र सहभागितामूलक बनाउने उद्देश्यले आयोजित सामुदायिक परामर्श कार्यक्रममा भिक्टोरियामा क्रियाशील नेपाली संघसंस्थाका प्रतिनिधि, समुदायका अगुवा, स्वयंसेवक तथा विभिन्न क्षेत्रका सरोकारवालाहरूको सहभागिता रहेको थियो। कार्यक्रममा फेस्टिभलको तयारी, सामुदायिक सहभागिता तथा विभिन्न संघसंस्थाबीचको सहकार्यका विषयमा छलफल भएको थियो।
भिक्टोरियाका संयोजक महादेव महादेव धानुकले नेपाल फेस्टिभललाई सम्पूर्ण नेपाली समुदायको साझा उत्सवका रूपमा अघि बढाउने उद्देश्यले विभिन्न संघसंस्था तथा समुदायका प्रतिनिधिहरूसँग छलफल भएको जानकारी दिए। उनले फेस्टिभललाई सफल बनाउन भिक्टोरियामा क्रियाशील सम्पूर्ण नेपाली संघसंस्था, व्यवसायी, युवा, स्वयंसेवक तथा समुदायका सदस्यहरूलाई सहभागिता र सहकार्यका लागि आह्वान गर्ने तयारी भइरहेको बताए।
नेपाल फेस्टिभल नेपाली कला, संस्कृति, भाषा, मौलिक परम्परा र राष्ट्रिय पहिचानलाई अस्ट्रेलियाको बहुसांस्कृतिक समाजमा प्रवर्द्धन गर्ने महत्त्वपूर्ण अवसरका रूपमा रहने अपेक्षा गरिएको छ।




फेस्टिभलमार्फत नेपाली मौलिक खानपान, लोकसंस्कृति, गीतसंगीत, नृत्य तथा परम्परालाई व्यापक समुदायमाझ प्रस्तुत गर्ने लक्ष्य राखिएको छ। यसले नेपाली समुदायबीच आपसी एकता अभिवृद्धि गर्नुका साथै अस्ट्रेलियामा हुर्कँदो नयाँ पुस्तालाई नेपाली संस्कृति र पहिचानसँग जोड्नसमेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।
एनआरएनए भिक्टोरियाले सामुदायिक परामर्श कार्यक्रममा सहभागी संघसंस्था, समुदायका अगुवा, स्वयंसेवक तथा सहयोगीहरूप्रति आभार व्यक्त गरेको छ। फेस्टिभललाई सफल बनाउन सबै पक्षको सक्रिय सहभागिता, सहकार्य र समन्वय महत्त्वपूर्ण हुनेमा आयोजकले जोड दिएको छ।
आयोजकका अनुसार फेस्टिभलमा सहभागिता तथा सहकार्यका लागि इच्छुक व्यक्ति, संघसंस्था र अन्य सरोकारवालालाई लक्षित गरी छिट्टै एक्सप्रेसन अफ इन्ट्रेस्ट सम्बन्धी सूचना सार्वजनिक गरिनेछ।
भिक्टोरियामा नेपाली समुदायको उपस्थिति र सक्रियता बढ्दै गएको सन्दर्भमा नेपाल फेस्टिभल २०२७ लाई नेपाली संस्कृति, सामुदायिक एकता र बहुसांस्कृतिक सद्भाव प्रवर्द्धन गर्ने अवसरका रूपमा हेरिएको छ।


प्रतिक्रिया