क्यानबेरा। अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित नेपाली चलचित्र ‘एलिफेन्ट इन द फग’ आगामी सोमबार अक्टोबर २६ मा अस्ट्रेलियाको राजधानी क्यानबेरास्थित संघीय संसद् भवनको थिएटरमा विशेष प्रदर्शन हुने भएको छ। आयोजकका अनुसार अस्ट्रेलियाको संघीय संसद् भवनभित्र रहेको थिएटरमा प्रदर्शन हुन लागेको यो पहिलो नेपाली चलचित्र हो।
अभिनाशविक्रम शाहको निर्देशनमा बनेको चलचित्रको विशेष प्रदर्शन अस्ट्रेलिया–नेपाल संसदीय मैत्री समूहको आयोजनामा हुन लागेको हो। कार्यक्रमलाई क्यानबेरास्थित नेपाली दूतावास र फेडरेसन अफ नेपाली कम्युनिटी एसोसिएसन अफ अस्ट्रेलिया ९फेन्का० ले सहयोग गरेका छन्। प्रदर्शनको व्यवस्थापन स्पिडविङ्स प्रालि अस्ट्रेलियाले गरिरहेको छ।
स्पिडविङ्सकी प्रमुख कार्यकारी अधिकृत शान्ति ढकालका अनुसार कार्यक्रमको उद्देश्य नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रवर्द्धन गर्नु, मानवीय सहयोगका लागि आर्थिक स्रोत जुटाउनु र नेपाल–अस्ट्रेलियाबीचको सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउनु हो।

विशेष प्रदर्शनमा अस्ट्रेलियाली संघीय संसद्का सदस्य, कूटनीतिक नियोगका प्रतिनिधि, नेपाली समुदायका अगुवा, सञ्चारकर्मी तथा अन्य विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।
कार्यक्रममार्फत नेपालका प्रधानमन्त्री राहत कोष र अस्ट्रेलियाको इमर्जेन्सी एक्सन एलायन्सका लागि सहयोग जुटाउने तयारी गरिएको आयोजकले जनाएको छ। कार्यक्रममा सहभागी हुन आउने इच्छुक व्यक्तिहरूले कार्यक्रमस्थलमा राखिने क्यूआर कोड स्क्यान गरी मानवीय सहयोगमा योगदान दिन सक्नेछन्।
नेपाली चलचित्रलाई अस्ट्रेलियाको संघीय संसद्जस्तो महत्त्वपूर्ण संस्थागत मञ्चमा प्रदर्शन गर्न लागिएको यस पहललाई नेपाली कला र सिर्जनात्मक क्षेत्रको अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्ने अवसरका रूपमा हेरिएको छ। यसले अस्ट्रेलियामा रहेका नेपाली समुदायको सांस्कृतिक उपस्थिति थप सशक्त बनाउन तथा नेपाली चलचित्रप्रति अन्तर्राष्ट्रिय चासो बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
क्यानबेराको विशेष प्रदर्शनपछि नोभेम्बरमा अस्ट्रेलियाका प्रमुख सहरहरूमा समेत चलचित्र प्रदर्शन गर्ने तयारी भइरहेको आयोजकले जनाएको छ।

प्रतिक्रिया