निःशुल्क ‘ग्रेस एजुकेसन एन्ड माइग्रेसन एक्स्पो २०२६’ सोमबार सिड्नीमा हुँदै !

निःशुल्क ‘ग्रेस एजुकेसन एन्ड माइग्रेसन एक्स्पो २०२६’ सोमबार सिड्नीमा हुँदै !


सिड्नी, अस्ट्रेलिया। अस्ट्रेलियामा अध्ययन गर्न चाहने विद्यार्थी, अन्तर्राष्ट्रिय विद्यार्थी तथा स्नातकहरूलाई शैक्षिक अवसर र आप्रवासनसम्बन्धी जानकारी उपलब्ध गराउने उद्देश्यले ग्रेस इन्टरनेसनलले ‘ग्रेस इन्टरनेसनल एजुकेसन एन्ड माइग्रेसन एक्स्पो २०२६’ आयोजना गर्ने भएको छ।

ग्रेस इन्टरनेसनलको २०औँ वार्षिकोत्सवको अवसरमा आयोजना हुन लागेको एक्स्पो आगामी सोमबार, अक्टोबर २६ मा सिड्नी टाउन हलस्थित लोअर टाउन हलमा हुनेछ। बिहान ११:३० बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन हुने कार्यक्रममा ५० भन्दा बढी शैक्षिक संस्था र १० भन्दा बढी आप्रवासनसम्बन्धी व्यावसायिक परामर्शदाताको सहभागिता रहने आयोजकले जनाएको छ। कार्यक्रममा प्रवेश निःशुल्क हुनेछ।

‘२० इयर्स अफ कनेक्टिङ लाइफ एन्ड लर्निङ’ अर्थात् ‘जीवन र शिक्षालाई जोड्दै २० वर्ष’ भन्ने नाराका साथ आयोजना हुन लागेको एक्स्पोको घोषणा अक्टोबर १९ मा सिड्नीमा आयोजित पत्रकार सम्मेलनमार्फत गरिएको थियो। पत्रकार सम्मेलनमा सञ्चारकर्मी, शिक्षा क्षेत्रका प्रतिनिधि तथा ग्रेस इन्टरनेसनलका विभिन्न कार्यालयका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

अस्ट्रेलियाको विद्यार्थी भिसा नीति, शैक्षिक मापदण्ड तथा आप्रवासनका सम्भावित मार्गहरूमा भइरहेका परिवर्तनका कारण विद्यार्थीहरूमा अन्योल बढिरहेका बेला एक्स्पोले सही सूचना र व्यावसायिक परामर्श उपलब्ध गराउने लक्ष्य राखेको छ।

एक्स्पोमा सहभागीहरूले विश्वविद्यालय, कलेज तथा अन्य शैक्षिक संस्थाका प्रतिनिधिसँग प्रत्यक्ष भेट गरी पाठ्यक्रम, छात्रवृत्ति, भर्नाका मापदण्ड र अध्ययनका अवसरबारे जानकारी लिन सक्नेछन्। त्यसैगरी, विद्यार्थी भिसाका सर्त, सीप मूल्याङ्कन तथा आफ्नो व्यक्तिगत परिस्थितिअनुसार सम्भावित आप्रवासनका मार्गबारे दर्ता प्राप्त माइग्रेसन एजेन्टहरूसँग परामर्श गर्ने अवसरसमेत उपलब्ध हुनेछ।

कार्यक्रमबारे जानकारी दिँदै ग्रेस इन्टरनेसनल सिड्नीका इभेन्ट कोअर्डिनेटर तथा अपरेसन्स म्यानेजर अर्बिन एसीले शैक्षिक संस्था र आप्रवासनसम्बन्धी विज्ञहरूलाई एउटै मञ्चमा ल्याउनुको उद्देश्य विद्यार्थीका जिज्ञासा र चिन्तालाई सम्बोधन गर्नु रहेको बताए।

त्यसैगरी, ग्रेस इन्टरनेसनल सिड्नीकी कार्यकारी निर्देशक सिम्रिता रञ्जितकारले संस्थाको दुई दशक लामो यात्राबारे चर्चा गर्दै विद्यार्थीलाई आफ्नो शैक्षिक तथा व्यावसायिक भविष्यबारे सूचित निर्णय लिन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन्। उनले एक्स्पो शैक्षिक संस्थाको प्रवर्द्धनमा मात्र सीमित नभई अस्ट्रेलियाको परिवर्तनशील शिक्षा तथा आप्रवासन नीतिबारे स्पष्ट जानकारी प्रदान गर्ने र विद्यार्थीलाई सही निर्णय लिन सक्षम बनाउने उद्देश्यले आयोजना गरिएको बताइन्।

सन् २००६ मा स्थापना भएको ग्रेस इन्टरनेसनलले अन्तर्राष्ट्रिय शिक्षाका लागि विद्यार्थीलाई सहयोग गर्दै आएको छ। संस्थाको २०औँ वार्षिकोत्सवले शिक्षा, ज्ञान र अवसरबीच सम्बन्ध स्थापित गर्ने आफ्नो यात्राको महत्त्वपूर्ण उपलब्धि प्रतिनिधित्व गरेको आयोजकले जनाएको छ।

पत्रकार सम्मेलनमा ग्रेस इन्टरनेसनल रकडेलका निर्देशक गणेश भट्टसहित संस्थाका विभिन्न कार्यालयका प्रतिनिधिहरूको उपस्थिति थियो। कार्यक्रममा संस्थाको नेतृत्व टोलीबाट प्रस्तुति दिइनुका साथै सञ्चारकर्मीसँग अन्तरक्रिया र प्रश्नोत्तरसमेत गरिएको थियो। कार्यक्रममा नेपाली समुदायको महत्त्वपूर्ण चाड विजयादशमी २०८३ को शुभकामना आदानप्रदानसमेत गरिएको थियो।

आयोजकले अस्ट्रेलियामा अध्ययनरत अन्तर्राष्ट्रिय विद्यार्थी, भविष्यमा अध्ययनका लागि आउने तयारीमा रहेका विद्यार्थी, स्नातक तथा सिड्नीका बहुसांस्कृतिक समुदायका सदस्यलाई एक्स्पोमा सहभागी भई शैक्षिक संस्था र दर्ता प्राप्त माइग्रेसन एजेन्टसँग प्रत्यक्ष जानकारी लिन आग्रह गरेको छ।

ग्रेस इन्टरनेसनलले आफ्नो २० वर्षे यात्रालाई विद्यार्थीको शैक्षिक विकास, सही सूचना र अवसरसँग जोड्दै आगामी दिनमा पनि अन्तर्राष्ट्रिय विद्यार्थीलाई सहयोग गर्ने प्रतिबद्धता दोहोर्‍याएको छ।