आजदेखि नेपाल प्रिमियर लिगको तेस्रो संस्करण, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आजदेखि नेपाल प्रिमियर लिगको तेस्रो संस्करण, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै


आठ टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा, विजेताले एक करोड ५० लाख रुपैयाँ पाउने, विदेशी खेलाडीको सहभागिता पनि बढाइयो।

काठमाडौं, २६ अक्टोबर। नेपाली क्रिकेटको बहुप्रतीक्षित फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आज सोमबारदेखि सुरु हुँदैछ। नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा प्रतियोगिता सञ्चालन हुन लागेको हो।

प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स आमनेसामने हुनेछन्। खेल नेपाली समयअनुसार साँझ ५ बजे सुरु हुनेछ। अस्ट्रेलियाको सिड्नी र मेलबर्नमा राति १० बजेर १५ मिनेट तथा एडिलेडमा राति ९ बजेर ४५ मिनेटमा खेल सुरु हुनेछ।

यसपटकको एनपीएललाई विशेष महत्त्वका साथ हेरिएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को मान्यता प्राप्त प्रतियोगितामा पहिलोपटक डिसिजन रिभ्यु सिस्टम (डीआरएस) प्रविधि प्रयोग गरिने भएको छ। यसले खेलमा अम्पायरका निर्णय पुनरावलोकन गर्ने अवसर प्रदान गर्नेछ।

तस्बिर : नेपाल क्रिकेट संघ को आधिकारिक फेसबुक पेज।

प्रतियोगितामा लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, जनकपुर बोल्ट्स, विराटनगर किंग्स, चितवन राइनोज, कर्णाली याक्स, पोखरा एभेन्जर्स र काठमाडौं गोर्खाज गरी आठ टोली सहभागी छन्।

गत संस्करणको फाइनलमा सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै उपाधि जितेको लुम्बिनी लायन्स यसपटक पनि विजयी सुरुवात गर्ने लक्ष्यसहित मैदान उत्रिनेछ। अर्कोतर्फ लगातार दुई संस्करणको फाइनल खेलेको सुदूरपश्चिम रोयल्स उद्घाटन खेलबाटै बलियो प्रदर्शन गर्ने तयारीमा छ।

अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म सञ्चालन हुने प्रतियोगितामा लिग चरणपछि प्लेअफका खेल हुनेछन्। नोभेम्बर १७ देखि प्लेअफ सुरु हुनेछ भने फाइनल खेल नोभेम्बर २१ मा हुनेछ।

नेपाली क्रिकेटको व्यावसायिक विकास, युवा प्रतिभाको पहिचान तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाली क्रिकेटको पहुँच विस्तारका दृष्टिले एनपीएललाई महत्त्वपूर्ण प्रतियोगिताका रूपमा लिइएको छ। अस्ट्रेलियासहित विश्वका विभिन्न मुलुकमा रहेका नेपाली क्रिकेटप्रेमीहरूले पनि प्रतियोगिता अनलाइनमार्फत हेर्न सक्नेछन्।