मेलबर्न अष्ट्रेलिया ।
गैर आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलिया सदस्यता आवेदनको समय थप्ने–नथप्ने बारेको विवाद समाधान भएको छ। सोमबार दुई पक्षबीच भएको छलफलले एक दिन सदस्यता आवेदनको समय थप्ने सहमति भएपछि विवाद मिलेको हो।
थपेको समय सीमा अनुसार अब एनआरएनए अष्ट्रेलियाको सदस्य बन्न चाहनेहरूले आज (सोमबार) राति ११ः५९ बजेसम्म आवेदन दिन पाउने छन्। स्मार्ट एनआरएनए मोबाइल एपमा गएर सदस्यता नवीकरण र नयाँ सदस्यताको लागि आवेदन दिन सकिने एनआरएन अष्ट्रेलियाले जनाएको छ।
जुन २६ गतेका लागि सदस्यता आवेदनको समय तोकिएको थियो। समय सकिन एक दिन अगावै शनिबार एनआरएन अष्ट्रेलियाका अध्यक्ष नन्द गुरुङले चार दिन समय थपेको विज्ञप्ति निकालेका थिए। बहुमत बोर्ड अफ डाइरेक्टरले गरेको निर्णय लत्त्याएर अध्यक्ष गुरुङले एकलौटी आवेदनको समय थपेको विज्ञप्ति निकालेको भन्दै प्रवक्ता उमेश खड्काले आपत्ति जनाएका थिए।
प्रवक्ता खड्काले आवेदन थप्ने निर्णय नभएको भन्दै बहुमत बोर्ड अफ डाइरेक्टरहरूको हस्ताक्षर सहितको विज्ञप्ति सार्वजनिक गरेका थिए। एनआरएनए अष्ट्रेलियाको आन्तरिक विवाद सार्वजनिक भएपछि दुवै पक्ष छलफलमा जुटेका थिए।
आइतबार भएको दुवै पक्षको छलफलमा एक दिन समय थप गर्ने निर्णय भएको प्रवक्ता उमेश खड्काले जानकारी दिए।
आगामी जुलाई २९ मा एनआरएनए अष्ट्रेलियाको नयाँ नेतृत्वको लागि निर्वाचन हुँदैछ। निर्वाचनलाई लक्षित गर्दै एनआरएनए अष्ट्रेलियाले नयाँ सदस्यताका लागि आवेदन र नवीकरणका गर्न कार्य गरिरहेको छ।
यो पनि
प्रतिक्रिया