मेलबर्न, अष्ट्रेलिया । तीन दिने औपचारिक अष्ट्रेलिया भ्रमण सम्पन्न गरी परराष्ट्रमन्त्री शिशिर खनाल स्वदेश फर्किएका छन् । शुक्रबार साँझ क्यानबेराबाट मेलबर्न हुँदै उनी नेपाल उडेका हुन् । थाई एयरको विमानमार्फत स्वदेश फर्किएका खनालले भ्रमणको विट मार्नुअघि अष्ट्रेलियाकी गभर्नर जनरल साम मोस्लेनसँग क्यानबेरा गभर्नमेन्ट हाउसमाा भेट गरेका थिए । पछिल्लो समय नेपालमा गएको महाविपत्तिपछि त्यसबाट प्रभावितका विषयमा विशेष चासो राख्दै आएकी गभर्नर जनरलले आफ्नो चासो परराष्ट्रमन्त्रीसँग राखेकी मात्र होइन शनिबारै पनि भिक्टोरियाको शेपार्टनमा नेपाली समूदायसँग अन्तरक्रिया गरेकी थिइन् । गभर्नर जनरलले अष्ट्रेलियामा रहेको नेपाली समुदायको सक्रियता र अस्ट्रेलियाली समाजमा पुर्याएको योगदानको खुलेर मन्त्री खनालसामू प्रशंसा गरिन् ।
भोटेकोशी विपद् र पछिल्लो बाढीपहिरोपछि अष्ट्रेलियाबाट व्यक्त भएको ऐक्यबद्धता तथा जलवायु र नेपाली विद्यार्थीका विषयमा भएको छलफललाई नेपाल–अष्ट्रेलिया सम्बन्धको महत्वपूर्ण पक्षका रूपमा हेरिएको छ।
त्यसअघि खनालले क्यानबेरामा रहेको नेपाली समूदायसँग दूतावासमै छलफल गरेका थिए । छलफलको क्रममा अष्ट्रेलियामा यतिबेलाको सबैभन्दा ठूलो नेपाली समूदायको समस्याका रुपमा विद्यार्थीको समस्याको उठान भयो । त्यस्तै दोहोरो नागरिकता र वंशजको नागरिकताको निरन्तरको विषय पनि उठ्यो । यी विषयमा मन्त्री खनाल यसअघिका मेलबर्न र सिड्नीमा भएका अन्तरक्रियादेखि होइन अमेरिकामा नेपाली समूदायले उठाएको सवालदेखि नै जानकार थिए । उनले यसको समाधानका लागि सरकारले तत्कालका लागि संविधान प्रदत्त राजनीतिक बाहेकको हक अधिकार स्थापित गराउनका लागि क्याविनेटमार्फत केही अत्यावश्यक ऐन संशोधनको प्याकेजमै तयारी गरिरहेको बताए । उनी अमेरिका बसेर पढेका कारण पनि विदेशमा बस्ने नेपालीको आवश्यकता र अनुभूतिबारे जानकारी छन् भन्नेमा दुईमत छैन । अझ राष्ट्रिय स्वतन्त्र पार्टी नै त्यस्तो पार्टी हो जसले विदेशमा बस्ने नेपालीको पीडा राम्रोसँग बुझ्न सक्छ भन्ने सत्य हो । सभापति रवि लामिछाने स्वयं एनआरएन भएर लामो समय अमेरिका बसे । उनी नेपाल फर्किएपछि भोगेको पासपोर्ट लगायतको समस्या धेरै नेपालीले गरिआएकै काम थियो । नेपालको राज्यव्यवस्थामा भएका छिद्रहरुका कारण कति धेरै पीडित बन्नुपर्छ भन्ने कुराको भुक्तभोगी पनि उनी हुन् । एनआरएनको सवालमा यदि कसैले समस्याको समाधान गर्छ, समस्यालाई गहिराईमा गएर बुझ्छ भने त्यो रास्वपा हो भन्दा फरक पर्दैन र उ नै यतिबेला राज्यको केन्द्रमा छ ।





एनआरएनले यिनै विषयवस्तु उठाउँदै आफुहरुले अष्ट्रेलियामा गरेका कामको फेहरिस्तसहित ज्ञानपत्र बुझाए दूतावासमै । त्यसअघि बिहीबार मन्त्री खनालले न्यूसाउथवेल्सका प्रिमियर क्रिस मिन्ससँग भेट गरेका थिए । सिड्नीमा भएको यो भेट यसकारण पनि महत्वपूर्ण थियो कि, क्रिस हालै भारतको भ्रमणमा जाँदा उनी नेपाल समेत जाने कार्यतालिका लिएर गएका थिए । तर, अचानकको बाढीका कारण र त्यसपछिको राहत र उद्धारमा व्यस्त रहेको बखत उनले भेट सही समयमा नहुने भन्दै त्यसलाई छोडिदिए । तर, त्यो मौका केही समयमा सिड्नीमै मिलेको थियो । उनी आफ्नो क्षेत्रमा सबैभन्दा बढी नेपाली बसोबास गर्ने भएका कारण मात्र होइन वास्तवमै नेपालीको प्रगति र उनीहरुको कार्यशैलीबाट समेत प्रभावित भएका प्रिमियर हुन् । यसैकारण नेपालकीका कैयौं कार्यक्रममा आफ्नै जोडबलमा पनि उनी सहभागी बन्दै आएका छन् । न्यूसाउथवेल्सका प्रिमियरसँगको भेटले निकै ठूलो महत्व राखेको छ । यसले नेपालीहरुलाई हेर्ने यहाँको केन्द्रीय नेतृत्वको दृष्टिकोणमा समेत धेरै सकारात्मकता थपेको हामी बुझ्न सक्छौं ।


यो भ्रमणको केन्द्रमा भने मेलबर्नको पार्लियामेन्टमा विदेशमन्त्री पेनी वोङसँग भएको भेट थियो । उनकै निमन्त्रणामा औपचारिक तालिका लिएर मेलबर्न झरेका परराष्ट्रमन्त्री खनालले समूदायसँगको अन्तरक्रियामा उठेका विषयवस्तु र आफ्नो तयारीका बुँदाहरु मन्त्री वोङ समक्ष राखेका थिए । जसलाई अष्ट्रेलियाले सहज रुपमा लिएको मात्र होइन थप १५ मिलियन डलर सहयोग गर्ने प्रतिबद्धता पनि जनाएर अनुमोदन गरिसकेको छ । यो सहकार्य अर्को उचाईमा पुग्ने अवसर पनि यो भ्रमणले दिएको छ । नेपाल र अष्ट्रेलियाबीच गएको ६५ वर्षभन्दा बढी समयको दौंत्य सम्बन्धका क्रममा कैयौं सहकार्य भएका छन् । तर, सफलतम प्रयोग भनेको नेपालको सामूदायिक वनको व्यवस्थापन र विकासमा अष्ट्रेलियाले खेलेको भूमिका हो । यसैकारण नेपालको वन जोगिएको छ र समूदायले पनि यसको लाभ लिन सकेको छ । यस्तै सहकार्य यदि कृषिको आधुनिकीकरण र नेपाली सरकारी सेवाको डिजिटाईजेसनमा अंगीकार गर्न सक्ने हो भने त्यसले नेपाललाई ठूलो लाभ दिन सक्छ । अष्ट्रेलियालाई आफ्नो अत्यावश्यक कृषि पैदावारको एउटा राम्रो श्रोतको रुपमा नेपाल विकास हुनसक्छ । यसको लगानीको तहमा अष्ट्रेलियामा रहेका नेपालीका साथै यहाँका कृषकहरु पनि सहभागी हुनसक्छन् । यो सहकार्यले अष्ट्रेलियामा अभाव भएको बेला नेपालबाट ति कृषि उपजहरुको आपूर्ति गर्ने र यताबाट नेपालमा पनि पैठारी गर्नसक्ने दोहोरो लाभको सुविधा दुबै देशले प्राप्त गर्न सक्नेछन् ।
कृषिमा सहकार्यको अर्को सुखद पक्ष भनेको अष्ट्रेलियामा अभाव रहेको कृषि कामदारको आपूर्ति गर्ने कार्यमा नेपालको भूमिका महत्वपूर्ण हुने जाने पक्ष पनि हो । वर्षेनी अष्ट्रेलियाले वर्किङ होलिडे भिसा हजारौंलाई प्रदान गर्दछ र ति भिसाधारीहरु यहााको कृषि क्षेत्रमा काम गर्दछन् । नेपालले पनि यो हैसियत प्राप्त गर्ने हो भने छोटो समयका लागि सिजनल कामदारको रुपमा नेपालीले यहाँ आएर मनग्गे कमाउन मात्र सक्ने छैनन नेपालमा यहाँको शिप र प्रविधिलाई पनि लैजाने सक्नेमा दुईमत छैन । यसतर्फको पहल अहिलेको आवश्यकता बनेको छ । यस्ता अनगिन्ती सम्भावनाका ढोका यस पटकको भ्रमणले खोलिदिएको छ । भ्रमणको निरन्तरतासँगै यी विषयवस्तु र मुद्दाको नियमित निरन्तरता पनि आजको आवश्यकता बनेको छ ।
अब अलिकति चर्चा गरौं यस पटकको परराष्ट्रमन्त्री खनालको अष्ट्रेलिया भ्रमण र यसलाई अष्ट्रेलियाले दिएको महत्वको । लामो समयमा कुनै मन्त्रीले औपचारिक तहमा गरेको यो भ्रमण पहिलो नै हो भन्दा हुन्छ । यसअघि टिफा सम्झौताको बेला तत्कालीन परराष्ट्रमन्त्री प्रकाशशरण महत आएका थिए तर भेटघाटको सीमित तालिका उनको थियो । त्यस्तै यहाँका नेपाली समूदायको समस्याको विषयमा कुनै अन्तरक्रियाहरु भएका थिएनन् । उनी त्यसअघि पनि नेपाल फेष्टिभल लगायतका कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी भएपनि अष्ट्रेलियासँग सहकार्यको भन्दा पनि कार्यकर्ताको बुझ बुझारथमै उनको ध्यान देखिन्थ्यो । वास्तवमा भन्ने हो भने धेरै मन्त्री, पूर्वमन्त्री, पूर्वप्रधानमन्त्रीसम्मका भ्रमणहरुले दुई देशबीचको सम्बन्ध र सहकार्यमा कुनै ईंटा थप्ने भन्दा पनि नामका मात्र थिए भन्दा अत्युक्ति हुँदैन । तर, यस पटकको परराष्ट्रमन्त्रीको भ्रमणले सहकार्यको नयाँ अध्याय खोलेको छ । यो भ्रमणलाई चुस्त र प्रभावकारी बनाउन क्यानबेरामा रहेको नेपाली दूतावास र कार्यवाहक राजदूत तारा गौतमको सक्रियताले पनि भूमिका खेलेको थियो । यो भ्रमणलाई चुस्त र प्रभावकारी बनाउन क्यानबेरामा रहेको नेपाली दूतावास र कार्यवाहक राजदूत तारा गौतमको सक्रियताले पनि भूमिका खेलेको थियो ।
उनलाई सुरक्षा कारगेडको व्यवस्था गरिएको थियो भने नेपालकै झण्डावाला गाडीमा, संसदमै समकक्षीसँग भेटको व्यवस्था लगायतले पनि अष्ट्रेलियाले यो भ्रमणलाई दिएको महत्वका रुपमा बुझ्न सकिन्छ ।
नेपालले अष्ट्रेलियाबाट के चाहेको हो भन्ने विषय टेबलमा पुगेको छ । यस पटकको परराष्ट्रमन्त्रीको भ्रमणलाई नजिकबाट हेरेका एक सञ्चारकर्मीको भनाईलाई सापटी लिने हो भने पहिलो पटक कुनै नेपाली मन्त्रीलाई अष्ट्रेलियाले यति धेरै महत्व दिएको थियो । उनलाई सुरक्षा कारगेडको व्यवस्था गरिएको थियो भने नेपालकै झण्डावाला गाडीमा संसदमै समकक्षीसँग भेटको व्यवस्था लगायतले पनि अष्ट्रेलियाले यो भ्रमणलाई दिएको महत्वका रुपमा बुझ्न सकिन्छ ।
भ्रमणअघि नेपालमा रहेका अष्ट्रेलियन राजदूतको सक्रियता, उनले प्रधानमन्त्री बालेन, रास्वपा सभापति रवि लामिछाने र परराष्ट्रमन्त्री खनालसँग नै गरेको भेट, नेपालमा भइरहेको उद्धार कार्यका विषयमा अष्ट्रेलियाकी गभर्नर जनरलकै तर्फबाट व्यक्त चासो र प्रधानमन्त्री एन्थोनी अल्बानिजीले न्यूयोर्कमा नेपालका प्रधानमन्त्रीलाई नै भेटेर गरेको सहयोग प्रतिबद्धता आदिले यी दुई देबीचको सहकार्यका नयाँ आयाम थपेका छन् । अबका दिनमा उच्चस्तरीय अझ भनौं प्रधानमन्त्री तहकै भ्रमणको आदान प्रदानले सहकार्यको यी सम्भावनाहरुलाई मूर्तरुप दिनेगरी तयारी थाल्न यो सही बेला भएको छ ।

प्रतिक्रिया