प्रवासी नेपाली मञ्चको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशन नोभेम्बर ४ र ५ मा काठमाडौंमा

प्रवासी नेपाली मञ्चको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशन नोभेम्बर ४ र ५ मा काठमाडौंमा


काठमाडौं। प्रवासी नेपाली मञ्च (ओएनएफ) अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशन आगामी नोभेम्बर ४ र ५ (कात्तिक १८ र १९ गते) काठमाडौंमा आयोजना हुने भएको छ।

“श्रमिक अधिकार, वंशजको नागरिकताको सुनिश्चितता–समृद्ध नेपाल, सुखी नेपाली हाम्रो प्रतिबद्धता” भन्ने मूल नारासहित आयोजना हुन लागेको अधिवेशनबारे आइतबार प्रचारप्रसार उपसमितिले जुममार्फत पत्रकार सम्मेलन गरी औपचारिक जानकारी गराएको हो।

पत्रकार सम्मेलनमा नेकपा एमालेका केन्द्रीय सचिव डा. राजन भट्टराई प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा एमाले केन्द्रीय प्रचार विभाग प्रमुख निरज आचार्य, केन्द्रीय सदस्यहरू घनश्याम पाण्डे, डा. सूर्य पाठक र सञ्जय थापा, ओएनएफ अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष रमेश पाण्डे, सल्लाहकार प्रमुख भक्त गुरुङ, सचिव चानक पोखरेल तथा प्रेस चौतारीका अध्यक्ष गणेश पाण्डेलगायतले अधिवेशनको सफलताको शुभकामना व्यक्त गर्नुभयो।

कार्यक्रम प्रचारप्रसार उपसमितिका संयोजक भक्त गुरुङको अध्यक्षता, सचिव रामशरण सिंखडाको सञ्चालन, उपसंयोजक गोविन्द पौडेलको स्वागत मन्तव्य र सदस्य बाबाराजेश्वरी थापाको विषय प्रवेशसँगै सम्पन्न भएको थियो।

अधिवेशनले आगामी चार वर्षका लागि मञ्चको नयाँ अन्तर्राष्ट्रिय कार्यसमिति निर्वाचित गर्नेछ। हाल विश्वका ३९ देशमा राष्ट्रिय कमिटी, पाँच महादेशीय कमिटी तथा ६० भन्दा बढी देशमा सम्पर्क सञ्जाल रहेको ओएनएफको अधिवेशनमा विश्वभरबाट ४०० भन्दा बढी प्रतिनिधि काठमाडौंमा सहभागी हुने जनाइएको छ।

पत्रकार सम्मेलनमा बोल्दै एमाले केन्द्रीय सचिव डा. राजन भट्टराईले श्रमिकका समस्या र नागरिकताजस्ता विषयलाई प्राथमिकताका साथ उठाउँदै प्रवासी नेपालीको हितमा मञ्च सक्रिय हुनुपर्ने बताउनुभयो।

मञ्चका अध्यक्ष रमेश पाण्डेले अधिवेशनमा प्रवासमा रहेका नेपालीका बहुआयामिक समस्या, अधिकार तथा नेपालको समृद्धिसँग जोडिएका विषयमा गहन छलफल हुने बताउनुभयो। उहाँले श्रमिक अधिकार र नागरिकताको विषय अधिवेशनका मुख्य मुद्दा हुने उल्लेख गर्दै प्रवासी नेपाली श्रमिकको हकहित, वंशजको नागरिकताको निरन्तरता, संवैधानिक तथा राजनीतिक अधिकार र प्रवासी नेपालीका साझा समस्या समाधानका लागि आवश्यक रणनीति तय गरिने जानकारी दिनुभयो।

अधिवेशनको उद्घाटन पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने आयोजकले जनाएको छ। प्रचारप्रसार उपसमितिका प्रमुख भक्तबहादुर गुरुङद्वारा जारी विज्ञप्तिअनुसार विदेशमा रहेका नेपालीको सीप, ज्ञान, पुँजी र अनुभवलाई नेपालको राष्ट्रिय विकास तथा समृद्धिमा एकीकृत गर्ने विषय अधिवेशनको प्राथमिकतामा रहनेछ।

त्यसैगरी, गैरआवासीय नेपाली संघ (एनआरएनए) लगायत प्रवासमा सक्रिय सामाजिक संघसंस्थासँगको समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा समेत जोड दिइने विज्ञप्तिमा उल्लेख छ।

उत्कृष्ट भिडियो बनाउनेलाई ७०० अमेरिकी डलर पुरस्कार

अधिवेशनको सन्दर्भ पारेर ओएनएफले प्रविधिको प्रयोगमार्फत सिर्जनात्मक सामग्री निर्माणलाई प्रोत्साहन गर्ने उद्देश्यले विश्वव्यापी भिडियो कन्टेन्ट क्रिएसन प्रतियोगिता आयोजना गर्ने भएको छ।

प्रतियोगिता सन् २०२६ अक्टोबर ११ देखि नोभेम्बर ३ सम्म सञ्चालन हुनेछ। प्रतियोगितामा सर्वोत्कृष्ट भिडियो सामग्री तयार पार्ने एक जना क्रिएटरलाई ७०० अमेरिकी डलर नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

मञ्चले विश्वभर रहेका आफ्ना राष्ट्रिय कमिटी, नेता–कार्यकर्ता तथा सञ्चारकर्मीलाई अधिवेशन सफल बनाउन सक्रिय सहभागिता जनाउनसमेत आह्वान गरेको छ।