वैकल्पिक गेटबाट प्रधानन्यायाधीश सर्वोच्चभित्र प्रवेश, भोलिदेखि बारको सर्वोच्च केन्द्रित आन्दोलन

वैकल्पिक गेटबाट प्रधानन्यायाधीश सर्वोच्चभित्र प्रवेश, भोलिदेखि बारको सर्वोच्च केन्द्रित आन्दोलन


काठमाडौं, २८ कात्तिक । कानून व्यवसायीहरुले सर्वोच्च अदालतको मुल गेटअगाडि प्रदर्शन गरेपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा वैकल्पिक मार्गबाट सर्वोच्च अदालतभित्र प्रवेश गर्नुभएको छ । प्रधानन्यायाधीश जबरा एक नम्बर गेट प्रयोग गरेर सर्वोच्च अदालतभित्र प्रवेश गर्नुभएको हो । एक नम्बर गेटमा प्रहरीले कानून व्यवसायीहरुलाई धर्ना दिन रोक लगाएको छ ।
कानून व्यवसायीहरू अर्को मुख्य गेटमा धर्नामा बसेका छन् । उनीहरुले प्रधानन्यायाधीशको राजीनामा माग गरेका छन् ।
यसैबीच नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै भइरहेको आन्दोलनलाई सोमबारदेखि सर्वोच्च अदालत केन्द्रित गर्ने भएको छ । बारको आह्वानमा कानुन व्यवसायीहरुले आइतबार सर्वोच्च परिसरमा धर्ना दिएका थिए । तर प्रधानन्यायाधीश जबराको समर्थनमा केही युवाहरुले प्रदर्शन गर्दै बाझाबाझ गर्न खोजेपछि आन्दोलनरत कानुन व्यवसायीहरु आक्रोशित भएका छन् । नेपाल बार एसोसिएसनका महासचिव लीलामणि पौड्यालले भिजिलान्तेहरु प्रयोग गरेर अदालतसम्म भिड्न पठाइएको आरोप लगाउनुभयो । उहाँले यसको जिम्मेवारी धानन्यायाधीशले लिनुपर्ने बताउनुभयो । उहाँले सोमबारदेखि उपत्यकाका सबै आन्दोलन सर्वोच्च परिसरमै केन्द्रित हुने समेत स्पष्ट पार्नुभयो ।
आफूहरु शान्तिपूर्ण आन्दोलन गरिरहँदा जबराले भिजिलान्तेहरु प्रयोग गरेर आफूहरुविद्ध उतारेको भन्दै महासचिव पौड्यालले भन्नुभयो, ‘घुस कमिसनको पैसा लिएर आएकाहरुबाट हाम्रो आन्दोलनलाई अपमान गर्न खोजियो, यसविरुद्ध हामी हरेक दिन यही गेटमा आन्दोलन गर्छौं ।’