प्रधानमन्त्री बालेन आज दिल्ली प्रस्थान गर्दै, द्विपक्षीय वार्तामा जोड

प्रधानमन्त्री बालेन आज दिल्ली प्रस्थान गर्दै, द्विपक्षीय वार्तामा जोड


काठमाडौं, ६ मंसिर। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) आज आइतबार भारतको दुईदिने राजकीय भ्रमणमा जाँदैछन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री शाह भारत जान लागेका हुन्।

प्रधानमन्त्री बनेपछि शाहको यो पहिलो औपचारिक द्विपक्षीय विदेश भ्रमण हो। परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री शाह आज दिउँसो १ बजेर ४५ मिनेटमा नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत नयाँदिल्ली प्रस्थान गर्ने कार्यक्रम छ।

भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय समकक्षी नरेन्द्र मोदीसँग सोमबार प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्नेछन्। वार्तामा नेपाल–भारत सम्बन्धका विविध पक्षका साथै व्यापार, पारवहन, ऊर्जा, लगानी, पूर्वाधार विकास र दुई देशबीचको सम्पर्क सञ्जाल विस्तारका विषयमा छलफल हुने बताइएको छ।

त्यस्तै, प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ। भारतीय विदेशमन्त्री एस. जयशंकरले पनि प्रधानमन्त्री शाहसँग भेटवार्ता गर्नेछन्।

प्रधानमन्त्री शाहको भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकारलगायत उच्चपदस्थ सरकारी अधिकारीहरू सहभागी हुनेछन्। भ्रमणमा ३४ सदस्यीय सरकारी प्रतिनिधिमण्डल रहनेछ भने निजी क्षेत्रबाट ५२ सदस्यीय व्यवसायी टोली आफ्नै खर्चमा भारत जाने कार्यक्रम छ।

भ्रमणका क्रममा नेपाल र भारतबीच ऊर्जा तथा सम्पर्क सञ्जालसम्बन्धी सम्पन्न परियोजनाहरूको संयुक्त उद्घाटन र नयाँ परियोजनाहरूको शिलान्यास गर्ने कार्यक्रमसमेत रहेको छ। साथै शिक्षा, स्वास्थ्य, कृषि, विपद् व्यवस्थापन तथा मानव संसाधन विकासलगायत विभिन्न क्षेत्रमा सहकार्य विस्तारसम्बन्धी समझदारीपत्र आदानप्रदान गर्ने तयारी छ।

भारत भ्रमणका अवसरमा नेपाल–भारत बिजनेस फोरमको कार्यक्रमसमेत आयोजना गरिनेछ। उक्त कार्यक्रममा दुवै देशका व्यवसायीबीच लगानी, व्यापारिक सहकार्य र आर्थिक साझेदारी विस्तारका सम्भावनाबारे छलफल हुनेछ।

प्रधानमन्त्री शाहको भ्रमणलाई दुई छिमेकी मुलुकबीचको कूटनीतिक तथा आर्थिक सम्बन्ध थप सुदृढ बनाउने अवसरका रूपमा हेरिएको छ। विशेषगरी ऊर्जा व्यापार, पूर्वाधार विकास, लगानी प्रवर्द्धन र आपसी हितका विषयमा हुने उच्चस्तरीय वार्तालाई महत्त्वका साथ हेरिएको छ।

प्रधानमन्त्री शाह सोमबार भारतको नयाँदिल्लीस्थित राजघाट पुगेर महात्मा गान्धीप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रममा समेत सहभागी हुनेछन्।

दुईदिने राजकीय भ्रमण सम्पन्न गरी प्रधानमन्त्री शाह सोमबार साँझ स्वदेश फर्किने कार्यक्रम रहेको छ।