सिड्नीमा आतंकवादविरोधी प्रहरीको अपरेसन, तीन जना पक्राउ

सिड्नीमा आतंकवादविरोधी प्रहरीको अपरेसन, तीन जना पक्राउ


मेलबर्न, अष्ट्रेलिया। अस्ट्रेलियाको सिड्नीमा सम्भावित आतंकवादी गतिविधिको अनुसन्धानका क्रममा प्रहरीले व्यापक आतंकवादविरोधी अपरेसन सञ्चालन गरेको छ। न्यु साउथ वेल्स प्रहरी र अस्ट्रेलियन फेडरल पुलिसको संयुक्त टोलीले शुक्रबार बिहानै सिड्नीका विभिन्न स्थानमा छापा मार्दै तीन जनालाई पक्राउ गरेको छ।

प्रहरीले सिड्नीको दक्षिण-पश्चिम तथा उत्तर-पश्चिम क्षेत्रका विभिन्न आवासीय क्षेत्रमा बिहान करिब ५ बजेदेखि खोजतलास सुरु गरेको थियो। क्याम्पबेलटाउन, इन्गलबर्न र लाकेम्बासहितका क्षेत्रमा प्रहरीको विशेष टोली परिचालन गरिएको थियो।

प्रहरीको संयुक्त आतंकवादविरोधी अनुसन्धान टोलीले इन्गलबर्नस्थित एक घरबाट ३५ वर्षीय पुरुषलाई पक्राउ गरेको छ। उनीमाथि आतंकवादसँग सम्बन्धित सामग्री संकलन तथा निर्माण गरेको र विद्युतीय सञ्चार माध्यममार्फत हिंसात्मक अतिवादसँग सम्बन्धित सामग्री राखेको आरोप लगाइएको छ।

प्रहरीका अनुसार बरामद सामग्री धार्मिक अतिवादबाट प्रेरित हिंसात्मक गतिविधिसँग सम्बन्धित रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उक्त सामग्रीमा इस्लामिक स्टेट ९आईएसआईएस० सँग सम्बन्धित विषयसमेत रहेको आरोप प्रहरीले लगाएको छ।

पक्राउ परेका ३५ वर्षीय व्यक्तिविरुद्ध आतंकवादसँग सम्बन्धित दस्तावेज संकलन तथा निर्माण गरेको र हिंसात्मक अतिवादी सामग्री राखेको अभियोग दर्ता गरिएको छ। उनलाई जमानत अस्वीकार गरिएको छ भने शुक्रबार नै क्याम्पबेलटाउन स्थानीय अदालतमा उपस्थित गराउने तयारी गरिएको छ।

यसै अपरेसनका क्रममा क्याम्पबेलटाउनबाट ३४ वर्षीय अर्का पुरुष पक्राउ परेका छन्। उनीमाथि प्रहरीको अनुसन्धानमा अवरोध पुर्‍याएको आरोपमा मुद्दा चलाउने तयारी भइरहेको छ। त्यस्तै, वुल्ली क्रिक क्षेत्रबाट पक्राउ परेका ३३ वर्षीय पुरुषमाथि हतियारसम्बन्धी अभियोग लगाउने तयारी प्रहरीले गरेको छ।

अपरेसनका क्रममा भारी हतियारसहितका विशेष प्रहरी, र्‍याप्टर स्क्वाड, विस्फोटक पदार्थ पहिचान गर्ने तालिमप्राप्त कुकुर, फरेन्सिक अनुसन्धान टोली तथा बम निष्क्रिय पार्ने विशेष टोली परिचालन गरिएको थियो।

प्रहरीले विभिन्न घर तथा सम्पत्तिमा खानतलासी गरी अनुसन्धानका लागि केही सामग्री नियन्त्रणमा लिएको जनाएको छ। घटनासम्बन्धी थप अनुसन्धान जारी रहेकाले सबै विवरण सार्वजनिक नगरिएको प्रहरीको भनाइ छ।
प्रहरीले हाल सर्वसाधारणको सुरक्षामा तत्काल कुनै निरन्तर खतरा नरहेको स्पष्ट पारेको छ।

अस्ट्रेलियाको संयुक्त आतंकवादविरोधी अनुसन्धान टोलीमा न्यु साउथ वेल्स प्रहरी, अस्ट्रेलियन फेडरल पुलिस, अस्ट्रेलियन सेक्युरिटी इन्टेलिजेन्स अर्गनाइजेसन र न्यु साउथ वेल्स क्राइम कमिसन सहभागी छन्।

सिड्नीका विभिन्न क्षेत्रमा एकैपटक सञ्चालन गरिएको यस अपरेसनलाई पछिल्लो समय अस्ट्रेलियाको सुरक्षा निकायले सम्भावित हिंसात्मक अतिवादी गतिविधिप्रति देखाएको गम्भीर सतर्कताका रूपमा हेरिएको छ।