सिड्नी, अस्ट्रेलिया। अस्ट्रेलियाको सिड्नीमा नेपाली तराई समुदायको महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्व छठ पूजा भव्य रूपमा सम्पन्न भएको छ। एसोसिएसन अफ नेपाल तराई इन अस्ट्रेलिया (एन्टा) को आयोजनामा नोभेम्बर १५ र १६ तारिखमा सिड्नीको चिपिङ नोर्टनस्थित छठ घाटमा आयोजित ‘सिड्नी छठ २०२६’ मा नेपाली समुदायका सदस्य, विभिन्न तहका सरकारी प्रतिनिधि, सामुदायिक अगुवा तथा नेपाल र भारतका कलाकारहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
दुई दिनसम्म सञ्चालन भएको छठ पर्व सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेसँगै विधिवत् रूपमा सम्पन्न भएको हो। श्रद्धालु भक्तजनहरूले व्रत बसेर अस्ताउँदो तथा उदाउँदो सूर्यको पूजा आराधना गर्दै परिवारको सुख, शान्ति, समृद्धि र कल्याणको कामना गरेका थिए।
एन्टाकी महासचिव अञ्जु साहले सञ्चालन गरेको औपचारिक उद्घाटन समारोह नेपाल र अस्ट्रेलियाको राष्ट्रिय गानबाट सुरु भएको थियो। कार्यक्रममा संस्थाका उपाध्यक्ष विकास झाले स्वागत मन्तव्य राख्दै सहभागी अतिथि तथा समुदायका सदस्यहरूलाई स्वागत गरेका थिए।
समारोहमा अस्ट्रेलियाका संघीय, राज्य तथा स्थानीय सरकारका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। संघीय सिनेटर डेभ शर्माले क्यानबेरामा आकस्मिक व्यस्तताका कारण उपस्थित हुन नसकेपछि भिडियो सन्देशमार्फत शुभकामना व्यक्त गरेका थिए।

त्यसैगरी न्यु साउथ वेल्स राज्यका सांसद तथा लेपिङ्टन क्षेत्रका प्रतिनिधि नाथन हागार्टी, क्याम्पबेलटाउन काउन्सिलका उपमेयर मसुद चौधरी, गैरआवासीय नेपाली संघ (एनआरएनए) न्यु साउथ वेल्स संयोजक उषा किरण बरिया पोखरेल, रोटरी डिस्ट्रिक्ट ९६७५ का असिस्टेन्ट गभर्नर तथा दुईपटक अस्ट्रेलियाको संघीय निर्वाचनमा उम्मेदवार बनेका विनोद पौडेल र कार्यक्रमका प्रमुख प्रायोजक रेन एन्ड होर्नका विजय पलले सम्बोधन गरेका थिए।
यस वर्षको छठ पर्वको विशेष उपलब्धिका रूपमा लिभरपुल सिटी काउन्सिल पहिलोपटक आधिकारिक प्रायोजकका रूपमा सहभागी भएको आयोजकले जनाएको छ। सिड्नी छठको इतिहासमै स्थानीय सरकारको निकाय औपचारिक प्रायोजक बनेको यो पहिलो अवसर भएको एन्टाको भनाइ छ। संस्थाले लिभरपुल सिटी काउन्सिलका लर्ड मेयर नेड मानुन तथा काउन्सिलप्रति विशेष आभार व्यक्त गरेको छ।
कार्यक्रममा एन्टाका अध्यक्ष सुजित सिंहले छठ पर्वलाई अस्ट्रेलियामा स्थापित गराउन योगदान पुर्याउने पूर्वकार्यसमिति, वर्तमान कार्यसमिति, स्वयंसेवक, प्रायोजक तथा सहयोगी संघसंस्थाप्रति धन्यवाद व्यक्त गरे। उनले नेपाली मौलिक धर्म, संस्कृति र परम्परालाई विदेशमा समेत जीवन्त राख्न सामूहिक प्रयास आवश्यक रहेको उल्लेख गर्दै कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति कृतज्ञता व्यक्त गरेका थिए।
धार्मिक अनुष्ठानसँगै आयोजित सांस्कृतिक कार्यक्रममा नेपालका चर्चित गायक रविराज साह र भारतकी गायिका प्रियंका सिंहले सांगीतिक प्रस्तुति दिएका थिए। उनीहरूको प्रस्तुतिले कार्यक्रममा सहभागी दर्शकलाई मनोरञ्जन प्रदान गरेको थियो। करिब आधा घण्टासम्म चलेको ढोल वादनले छठ घाटको वातावरण थप उत्सवमय बनाएको थियो।
कार्यक्रमस्थलमा राखिएका विभिन्न खानाका स्टल तथा प्रायोजक संस्थाका स्टलहरूले सहभागीहरूलाई आपसी भेटघाट, सांस्कृतिक आदानप्रदान र सामुदायिक सम्बन्ध विस्तार गर्ने अवसर प्रदान गरेका थिए।
विशेषगरी अस्ट्रेलियामा जन्मिएका तथा हुर्किरहेका नयाँ पुस्तालाई नेपाली तराई क्षेत्रको मौलिक धार्मिक परम्परा, संस्कृति र पहिचानसँग जोड्ने महत्वपूर्ण अवसरका रूपमा समेत यस वर्षको छठ पर्वलाई लिइएको आयोजकले जनाएको छ।
एन्टाले सिड्नी छठ २०२६ को सफलताले अस्ट्रेलियामा नेपाली समुदायबीचको एकता, सांस्कृतिक पहिचान र धार्मिक सहिष्णुतालाई थप मजबुत बनाएको उल्लेख गरेको छ। संस्थाले आगामी वर्षहरूमा पनि यस्ता धार्मिक तथा सांस्कृतिक कार्यक्रमलाई निरन्तरता दिँदै नेपाली मौलिक परम्पराको संरक्षण र प्रवर्द्धनमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेको छ।
अस्ट्रेलियामा नेपाली तराई समुदायको भाषा, धर्म, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले क्रियाशील एन्टाले छठ पर्वलगायत विभिन्न सांस्कृतिक कार्यक्रममार्फत नेपाली समुदायबीच आपसी सद्भाव, एकता र पुस्तान्तरणको सम्बन्धलाई मजबुत बनाउँदै आएको छ।





प्रतिक्रिया