डिसेम्बर ७ मा एडिलेड गुञ्जाउँदै नेपथ्य, अस्ट्रेलियाका अन्य सहरमा पनि सांगीतिक प्रस्तुति हुने

डिसेम्बर ७ मा एडिलेड गुञ्जाउँदै नेपथ्य, अस्ट्रेलियाका अन्य सहरमा पनि सांगीतिक प्रस्तुति हुने


एडिलेड, अस्ट्रेलिया। नेपाली लोक–रक संगीतको चर्चित ब्यान्ड नेपथ्यले अस्ट्रेलिया टुर २०२६ अन्तर्गत आगामी डिसेम्बर ७ सोमबार दक्षिण अस्ट्रेलियाको एडिलेडमा सांगीतिक प्रस्तुति दिने भएको छ। एडिलेडस्थित हिन्द्ले स्ट्रिट म्युजिक हलमा आयोजना हुने ‘नेपथ्य लाइभ इन एडिलेड २०२६’ मा ब्यान्डले आफ्ना लोकप्रिय गीतहरू प्रस्तुत गर्नेछ।

कार्यक्रमका लागि साँझ ७ बजेदेखि प्रवेश खुला हुनेछ भने मुख्य सांगीतिक प्रस्तुति राति ८ बजेदेखि सुरु हुनेछ। सबै उमेर समूहका दर्शकका लागि खुला रहने कार्यक्रममा बालबालिकासहित परिवारका सदस्यहरू सहभागी हुन सक्ने आयोजकले जनाएका छन्।

नेपथ्यको अस्ट्रेलिया टुरको व्यवस्थापन नेपालय र ग्रिस इभेन्ट एन्ड इन्टरटेनमेन्टले गरेका छन्। एडिलेडको कार्यक्रम भने ग्रिस इभेन्ट एन्ड इन्टरटेनमेन्ट र थ्री केजी इन्टरटेनमेन्ट एन्ड इभेन्टको संयुक्त आयोजनामा हुँदैछ। कार्यक्रममा ग्रेस इन्टरनेसनल एजुकेसन एन्ड माइग्रेसन एडिलेड र केन्टफोर्ड इन्स्टिच्युट टाइटल स्पोन्सर रहेका छन् भने ग्रेस इन्टरनेसनलले आधिकारिक भिसा पार्टनरको जिम्मेवारीसमेत सम्हालेको छ। अन्य विभिन्न व्यावसायिक संस्थाहरूले पनि कार्यक्रमलाई सहयोग गरेका छन्।

सन् १९९० मा पोखराबाट सुरु भएको नेपथ्यको सांगीतिक यात्रा तीन दशकभन्दा लामो भइसकेको छ। मुख्य गायक अमृत गुरुङको नेतृत्वमा रहेको ब्यान्डले नेपाली लोकभाका र आधुनिक रक संगीतको संयोजनमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आफ्नो पहिचान स्थापित गरेको छ। ‘रेशम’, ‘छेक्यो छेक्यो’, ‘जोमसोमे बजारमा’, ‘भेडाको ऊनजस्तो’, ‘सा कर्णाली’, ‘तालको पानी’ र ‘रातो र चन्द्र सूर्य’ लगायतका गीत नेपथ्यका लोकप्रिय प्रस्तुतिमध्ये पर्छन्। यसपटक नेपथ्यले एडिलेडसँगै सिड्नी, मेलबर्न र पर्थमा पनि सांगीतिक प्रस्तुति दिने कार्यक्रम रहेको छ।

ग्रिस इभेन्ट एन्ड इन्टरटेनमेन्टका गगन गिरीले नेपाली संगीतको इतिहास बोकेको नेपथ्यको प्रस्तुति एडिलेडका संगीतप्रेमीका लागि विशेष हुने बताए। उनले एडिलेडमा लामो समयदेखि बसोबास गर्दै आएका नेपाली समुदायका सदस्यहरूको प्रत्यक्ष सहयोग र सक्रिय सहभागितामा कार्यक्रमको तयारी अघि बढिरहेको जानकारी दिए। उनका अनुसार स्थानीय समुदायका विभिन्न व्यावसायिक क्षेत्रमा आबद्ध अनुभवी व्यक्तिहरूले समेत कार्यक्रमको व्यवस्थापन तथा प्रवर्द्धनमा सहकार्य गरिरहेका छन्।

त्यसैगरी, थ्री केजी इन्टरटेनमेन्ट एन्ड इभेन्टका खुम घलेले सबै उमेर समूहका दर्शकलाई समेट्ने गरी कार्यक्रमको तयारी भइरहेको बताए। उनले परिवारसहित नेपथ्यको प्रत्यक्ष प्रस्तुति हेर्न सकिने उल्लेख गर्दै इच्छुक दर्शकलाई समयमै टिकट बुकिङ गर्न आग्रह गरे।

नेपाली मौलिक संगीत र आधुनिक रकको संयोजनमा नेपथ्यले दिने प्रस्तुतिले एडिलेडको नेपाली समुदायमा सांगीतिक उत्साह थप्ने अपेक्षा गरिएको छ।

टिकट बुकिङ: https://m.moshtix.com.au/v2/event/nepathya-live-in-adelaide-2026/200900?skin=hsmh

नेपथ्यको आधिकारिक वेबसाइट: www.nepathya.com.np