काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि सुदूरपश्चिम रोयल्सले जितेको छ। शनिबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न फाइनल खेलमा साविक विजेता लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिमले पहिलोपटक एनपीएलको उपाधि आफ्नो पोल्टामा पारेको हो।
लगातार तेस्रोपटक फाइनलमा पुगेको सुदूरपश्चिमले यसअघिका दुई संस्करणमा उपविजेतामै चित्त बुझाउनुपरेको थियो। तर यसपटक उत्कृष्ट प्रदर्शन गर्दै टोलीले ऐतिहासिक सफलता हात पारेको छ। उपाधि जितेसँगै त्रिवि क्रिकेट मैदानमा रंगीन आतिशबाजी गरिएको थियो भने खेलाडी र समर्थकहरूले खुसीयाली मनाउँदै विजयोत्सव मनाएका थिए।
फाइनलमा लुम्बिनी लायन्सले दिएको १५६ रनको लक्ष्य सुदूरपश्चिमले १३ दशमलव ३ ओभरमा कुनै विकेट नगुमाई पूरा गरेको थियो। टोलीको जितमा स्कटल्यान्डका ब्याटर जर्ज मन्से नायक बने। उनले ५४ बलमा १२ छक्का र ८ चौकासहित अविजित १२५ रनको विस्फोटक पारी खेले। अर्का ओपनर विनोद भण्डारीले ३० रनको अविजित योगदान दिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनी लायन्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५५ रन बनाएको थियो। लुम्बिनीका लागि दिलीप नाथले सर्वाधिक अविजित ३९ रन बनाए भने कप्तान रोहित पौडेलले ३०, निरोशन डिकवेलाले २८ र अली शेखले २४ रन जोडे। सुदूरपश्चिमका स्कट कुगलेइनले दुई विकेट लिँदा हेमन्त धामी, दीपेन्द्रसिंह ऐरी र थरिन्दु रत्नायकेले एक–एक विकेट लिए।
सुदूरपश्चिमका लागि यो जित विशेष रह्यो। पहिलो संस्करणको फाइनलमा जनकपुर बोल्ट्ससँग पराजित भएको टोली दोस्रो संस्करणमा लुम्बिनी लायन्ससँग पराजित हुँदै उपविजेतामा सीमित भएको थियो। तेस्रो संस्करणको लिग चरण र पहिलो क्वालिफायरमा समेत लुम्बिनीसँग हार बेहोरेको सुदूरपश्चिमले निर्णायक फाइनलमा भने शानदार पुनरागमन गर्दै उपाधि जितेको हो।
उपाधिसँगै सुदूरपश्चिम रोयल्सले एक करोड ५० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ। फाइनलमा उत्कृष्ट शतकीय प्रदर्शन गरेका जर्ज मन्से प्लेयर अफ द म्याच घोषित भए।
लगातार दुईपटक उपाधिनजिक पुगेर निराश बनेका सुदूरपश्चिमका खेलाडी तथा समर्थकहरूका लागि यसपटकको जित ऐतिहासिक उपलब्धि बनेको छ। खेल सकिएपछि त्रिवि मैदानमा देखिएको उत्साह, आतिशबाजी र विजयोत्सवले एनपीएलको तेस्रो संस्करणलाई स्मरणीय बनाएको छ।
यससँगै जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सपछि सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिगको उपाधि जित्ने तेस्रो टोली बनेको छ।



प्रतिक्रिया