काठमाडौँ ।
नेपाली सेनाका पूर्व प्रधानसेनापति रुकमाङ्गद कटवाल अस्पताल भर्ना भएका छन् । वीरेन्द्र सैनिक अस्पताल छाउनीमा भर्ना भएका कटुवालको आईसीयूमा उपचार भइरहेको छ ।
दुवै मिर्गौला फेल भएर डाइलसिस गराउँदै आएका कटवालको स्वास्थ्यमा थप समस्या देखिएपछि छाउनीस्थित सैनिक अस्पतालको आईसीयूमा राखिएको हो। नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले पूर्व प्रधानसेनापति कटवाल एक हप्तादेखि आईसीयूमा रहेको पुष्टि गरेका छन् ।
कटवाल २०६३ भदौ २४ गतेदेखि नेपाली सेनाको प्रधानसेनापति भएका थिए। २०६६ वैशाख २० गते तत्कालिन् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कटवाललाई हटाएर कुलबहादुर खड्कालाई प्रधानसेनापति बनाउने निर्णय गरेका थिए।
तर राष्ट्रपति रामबरण यादवले कट्वाललाई नै निरन्तर काम गर्न पत्र दिएपछि प्रचण्डले प्रधानमन्त्रीबाट राजीनामा दिनु परेको थियो । यही घटनाका कारण कटवाल चर्चामा आएका थिए।

प्रतिक्रिया