मेलबर्न । नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र अष्ट्रेलियाका परराष्ट्रमन्त्री पेनी वङबीच मेलबर्नमा द्विपक्षीय वार्ता भएको छ।
नेपालको परराष्ट्र मन्त्रालयका अनुसार वार्तामा नेपाल–अष्ट्रेलिया सम्बन्धको समग्र अवस्था तथा आपसी हितका विविध विषयमा छलफल भएको थियो। दुवै पक्षले साझा लोकतान्त्रिक मूल्य, पारस्परिक सम्मान तथा जनस्तरको सम्बन्धमा आधारित नेपाल–अष्ट्रेलिया सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
वार्ताका क्रममा अष्ट्रेलियाली परराष्ट्रमन्त्री वङले नेपालमा हालै आएको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा समुदायप्रति समवेदना व्यक्त गर्दै नेपालको राहत, पुनःस्थापना र पुनर्निर्माणमा अष्ट्रेलियाको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरिन्।
सो अवसरमा अष्ट्रेलियाले नेपालका लागि थप १५ मिलियन अष्ट्रेलियन डलर सहायता घोषणा गरेको छ। यो रकम बाढीपछिको राहत तथा प्रारम्भिक पुनःस्थापना प्रयासमा प्रयोग गरिनेछ। यसअघि अष्ट्रेलियाले आपत्कालीन प्रतिक्रियाका लागि घोषणा गरेको ११ मिलियन डलर सहित नेपालको बाढीपछिको सहयोग २६ मिलियन अष्ट्रेलियन डलर पुगेको छ।
परराष्ट्रमन्त्री खनालले अष्ट्रेलिया सरकार तथा जनताले संकटका बेला गरेको मानवीय सहयोगप्रति धन्यवाद व्यक्त गरेका छन्।
हिमाली क्षेत्रमा जलवायु प्रभाव उठाउन आग्रह
जलवायु परिवर्तनबाट नेपाल र अष्ट्रेलिया दुवै प्रभावित भइरहेका सन्दर्भमा मन्त्री खनालले अष्ट्रेलियाले आफ्नो अन्तर्राष्ट्रिय नेतृत्वको भूमिका प्रयोग गर्दै नेपालको संवेदनशील हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारेको असमान प्रभावलाई अन्तर्राष्ट्रिय मञ्चमा प्राथमिकताका साथ उठाउन आग्रह गरेका छन्।
आगामी COP31 मा अष्ट्रेलियाको सह-अध्यक्षताको भूमिकालाई समेत उपयोग गर्दै जलवायु अनुकूलन, पूर्वसूचना प्रणाली, विपद् तयारी तथा जलवायु–प्रतिरोधी पूर्वाधार निर्माणमा नेपाल–अष्ट्रेलिया सहकार्य थप विस्तार गर्नुपर्नेमा उनले जोड दिएका छन्।

नेपाली विद्यार्थीका विषयमा पनि छलफल
दुई मन्त्रीबीच शैक्षिक सहकार्य विस्तार गर्ने विषयमा पनि छलफल भएको छ। नेपालमा अष्ट्रेलियाली मान्यताप्राप्त प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम (TVET) संस्था स्थापना गर्ने सम्भावनाबारे पहल अघि बढाउने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।
अष्ट्रेलियाको बहुसांस्कृतिक समाज तथा अर्थतन्त्रमा नेपाली विद्यार्थी र नेपाली डायस्पोराले पुर्याउँदै आएको योगदान उल्लेख गर्दै मन्त्री खनालले पछिल्ला विद्यार्थी भिसा नीतिमा नेपाली विद्यार्थीका लागि अनुकूल व्यवस्था गर्न अष्ट्रेलिया सरकारसमक्ष आग्रह गरेका छन्।
प्रत्यक्ष हवाई सम्पर्कदेखि व्यापार र श्रम आवागमनसम्म
वार्तामा नेपाल–अष्ट्रेलिया सम्बन्धलाई थप व्यापक बनाउने विषयमा पनि छलफल भएको छ। विशेषगरी व्यापार तथा वैदेशिक प्रत्यक्ष लगानी, प्रविधि हस्तान्तरण, नवीकरणीय ऊर्जा, दिगो कृषि, पर्यटन प्रवर्द्धन, श्रम आवागमन तथा नेपाल–अष्ट्रेलियाबीच प्रत्यक्ष हवाई सम्पर्क स्थापना गर्ने सम्भावनाबारे दुवै पक्षले छलफल गरेका छन्।
अष्ट्रेलियाली परराष्ट्रमन्त्री वङले नेपालसँगको साझेदारीलाई थप सुदृढ गर्न अष्ट्रेलिया प्रतिबद्ध रहेको बताउँदै प्राथमिकताका क्षेत्रमा निरन्तर सहकार्यलाई स्वागत गरेकी छन्।
वार्ताको अन्त्यमा दुवै पक्षले उच्चस्तरीय नियमित संवादलाई निरन्तरता दिने तथा वार्तामा भएका समझदारीलाई व्यवहारिक परिणाममा रूपान्तरण गर्न सहकार्य गर्ने सहमति गरेका छन्।

प्रतिक्रिया