मेलबर्न, अस्ट्रेलिया। भिक्टोरियामा हुने आगामी राज्य निर्वाचनका लागि लिबरल पार्टीले नेपाली मूलका शंकर धरेललाई उत्तरी महानगरीय क्षेत्र (नर्दर्न मेट्रोपोलिटन रिजन) बाट उम्मेदवारका रूपमा अघि सारेको छ। भिक्टोरियाको राज्य निर्वाचनमा लिबरल पार्टीबाट नेपाली मूलका व्यक्तिले उम्मेदवारी पाएको यो पहिलो अवसर भएको बताइएको छ।
पार्टीबाट उम्मेदवारी अनुमोदन भएपछि धरेलले स्थानीय समुदायसँग प्रत्यक्ष संवाद र सहकार्य गर्दै अघि बढ्ने बताएका छन्। आफ्नो क्षेत्रका बासिन्दाका सरोकार, अपेक्षा र प्राथमिकतालाई नजिकबाट बुझ्दै उनीहरूका मुद्दालाई सम्बन्धित तहमा उठाउने उनको भनाइ छ।
केबीसी खबरसँग कुरा गर्दै धरेलले नर्दर्न मेट्रोपोलिटन क्षेत्रबाट लिबरल उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रन पाउँदा खुसी लागेको बताए। समुदायका कुरा सुन्ने, उनीहरूको विश्वास जित्ने र स्थानीय बासिन्दाका लागि महत्त्वपूर्ण विषयमा आवाज उठाउने आफ्नो प्राथमिकता रहने उनले बताए।
चुनावी अभियान अगाडि बढ्दै गर्दा विभिन्न समुदायसँग भेटघाट र छलफललाई निरन्तरता दिने उनको योजना छ। स्थानीय बासिन्दाका सुझाव र सरोकार सुन्न आफू तयार रहेको बताउँदै धरेलले अभियानमा सहभागी हुन वा आफ्नो क्षेत्रसँग सम्बन्धित विषयमा छलफल गर्न चाहनेहरूलाई सम्पर्कमा आउन आग्रह गरेका छन्।
अभियानका गतिविधि, कार्यक्रम तथा समुदाय सहभागी हुन सक्ने अवसरबारे जानकारी आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै जाने उनले बताएका छन्।
को हुन् शंकर धरेल ?
लामो समयदेखि मेलबर्नलाई कर्मथलो बनाउँदै आएका शंकर धरेल शिक्षा, माइग्रेसन, कानुन तथा व्यवसायिक क्षेत्रमा सक्रिय छन्। सार्वजनिक रूपमा उपलब्ध उनको पेशागत विवरणअनुसार नेपालमा शिक्षकका रूपमा आफ्नो करियर सुरु गरेका धरेल पछिल्लो एक दशकभन्दा बढी समयदेखि अस्ट्रेलियाको अन्तर्राष्ट्रिय शिक्षा तथा माइग्रेसन क्षेत्रमा कार्यरत छन्।
धरेल म्याक्सीम्याक्स एजुकेशन एण्ड माइग्रेसन सर्भिसेजका संस्थापक तथा निर्देशक हुन्। उनी अस्ट्रेलियाका दर्तावाल माइग्रेसन एजेन्टसमेत हुन्। अस्ट्रेलियाको अफिस अफ द माइग्रेसन एजेन्ट्स रजिस्ट्रेसन अथोरिटी (ओमारा) को अभिलेखअनुसार धरेलको माइग्रेसन एजेन्ट दर्ता नम्बर २२१७७९४ रहेको छ।

शिक्षामा नयाँ योजना
यसैबीच, भिक्टोरियाका लिबरल र नेसनल्सले शैक्षिक अवसर विस्तार गर्ने उद्देश्यसहित नयाँ शिक्षा योजना अघि सारेका छन्। विद्यार्थी बसोबास गर्ने पोस्टकोडका कारण उनीहरूले पाउने शैक्षिक अवसर सीमित हुन नहुने योजनाको मुख्य अवधारणा रहेको पार्टीले जनाएको छ।
योजनाअन्तर्गत विद्यमान छ वटा विद्यालयसँग सम्बन्धित स्थान र पहुँचबारे निर्णय गर्नुअघि स्थानीय समुदायसँग परामर्श गरिने र सम्बन्धित क्षेत्रको आवश्यकता तथा उपलब्ध तथ्यांकलाई आधार बनाइने जनाइएको छ।
त्यस्तै मेल्टन, क्यारोलाइन स्प्रिङ्स र सिडेनहम आसपास; क्रेगिबर्न, रोक्सबर्ग पार्क र आसपास; तथा ल्याङ्वारिन, क्रानबर्न साउथ आसपासका क्षेत्रमा गरी तीन नयाँ विद्यालय स्थापना गर्ने प्रस्ताव गरिएको छ। प्रस्तावित विद्यालयहरूलाई सन् २०३० अघि सञ्चालनमा ल्याउने लक्ष्यसहित आवश्यक जग्गा पहिचान तथा अधिग्रहण प्रक्रिया अगाडि बढाउने योजना छ।
नयाँ विद्यालयमा विद्यार्थी भर्ना गर्दा शैक्षिक उपलब्धि र क्षमतासँगै सामाजिक तथा आर्थिक अवस्थालाई समेत विचार गर्ने प्रस्ताव गरिएको छ। विद्यार्थीको परिवारको आर्थिक अवस्था वा उनीहरू बसोबास गर्ने पोस्टकोडले मात्र शैक्षिक अवसर निर्धारण नगरोस् भन्ने उद्देश्य रहेको लिबरल र नेसनल्सले जनाएको छ।



प्रतिक्रिया