अष्ट्रेलियाकी गभर्नर जनरलसँग परराष्ट्रमन्त्री खनालको भेट, नेपाली विद्यार्थीको हित र जलवायु परिवर्तनबारे छलफल

अष्ट्रेलियाकी गभर्नर जनरलसँग परराष्ट्रमन्त्री खनालको भेट, नेपाली विद्यार्थीको हित र जलवायु परिवर्तनबारे छलफल


क्यानबेरा, अष्ट्रेलिया। नेपालका परराष्ट्रमन्त्री शिशिर खनालले अष्ट्रेलियाकी गभर्नर जनरल साम मोस्टिनसँग शुक्रबार क्यानबेरास्थित गभर्नमेन्ट हाउसमा शिष्टाचार भेट गरेका छन्।

भेटका क्रममा नेपाल र अष्ट्रेलियाबीचको द्विपक्षीय सम्बन्ध, जलवायु परिवर्तनका चुनौती, अष्ट्रेलियामा अध्ययनरत नेपाली विद्यार्थीहरूको हित तथा दुई देशबीच शैक्षिक साझेदारी विस्तारका विषयमा छलफल भएको छ।

परराष्ट्रमन्त्री खनालका अनुसार भेटमा गभर्नर जनरल मोस्टिनले नेपालको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी प्राकृतिक विपद् तथा हालैका बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेकी थिइन्। उनले विपद्को कठिन परिस्थितिमा नेपाल र नेपाली जनताप्रति अष्ट्रेलियाको ऐक्यबद्धता रहेको बताएकी थिइन्।

खनालले विपद्का बेला अष्ट्रेलियाले देखाएको सद्भाव, समवेदना र सहयोगप्रति आभार व्यक्त गरेका छन्।

तस्बिर : परराष्ट्रमन्त्री शिशिर खनालको आधिकारिक फेसबुक पेज।

भेटमा जलवायु परिवर्तनका कारण हिमाली तथा प्रशान्त महासागरीय टापु राष्ट्रहरूले सामना गरिरहेका चुनौतीबारे पनि महत्वपूर्ण छलफल भएको थियो। खनालले हिमाली राष्ट्र र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरूबीच जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलनका क्षेत्रमा सहकार्य आवश्यक रहेको बताएका थिए।

उनले आगामी कोप–३१ जलवायु सम्मेलनलाई लक्षित गर्दै नेपालका जलवायुसम्बन्धी प्राथमिकतामा अष्ट्रेलियाको सहयोगसमेत माग गरेका छन्।

त्यसैगरी, अष्ट्रेलियामा अध्ययनरत नेपाली विद्यार्थीहरूको हित, कल्याण तथा दुई देशबीच शैक्षिक सहकार्यलाई थप विस्तार गर्ने विषयमा पनि छलफल भएको खनालले जानकारी दिएका छन्।

भेटका क्रममा गभर्नर जनरल मोस्टिनले अष्ट्रेलियामा रहेका नेपाली समुदायको सक्रियता र अष्ट्रेलियाली समाजमा उनीहरूले पुर्‍याउँदै आएको योगदानको उच्च प्रशंसा गरेकी थिइन्।

खनालले नेपाली समुदायप्रति गभर्नर जनरलले व्यक्त गरेको सकारात्मक धारणा उत्साहजनक रहेको उल्लेख गर्दै नेपाल र अष्ट्रेलियाबीचको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्धलाई आगामी दिनमा अझ सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन्।

यसअघि बिहीबार मेलबर्नमा परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाकी विदेशमन्त्री पेनी वङबीच द्विपक्षीय वार्ता भएको थियो। उक्त अवसरमा अष्ट्रेलिया सरकारले नेपालको बाढीपछिको पुनर्निर्माण तथा भविष्यका विपद्सँग जुध्ने क्षमता अभिवृद्धिका लागि थप १५ मिलियन अष्ट्रेलियन डलर सहयोग गर्ने घोषणा गरेको थियो।

तस्बिर : परराष्ट्रमन्त्री शिशिर खनालको आधिकारिक फेसबुक पेज।
तस्बिर : परराष्ट्रमन्त्री शिशिर खनालको आधिकारिक फेसबुक पेज।