एडिलेड, साउथ अस्ट्रेलिया। नेपाली संगीतको चर्चित रक ब्यान्ड १९७४ एडी भोलि हुने कन्सर्टका लागि एडिलेड आइपुगेको छ। ‘१९७४ एडी लाइभ इन एडिलेड–रक यात्रा टुर २०२६’ अन्तर्गत ब्यान्डले बिहीबार एडिलेडमा प्रत्यक्ष सांगीतिक प्रस्तुति दिनेछ।
एडिलेडको हिन्ड्ली स्ट्रिट म्युजिक हलमा आयोजना हुने कन्सर्टमा १९७४ एडी ब्यान्डले आफ्ना चर्चित तथा लोकप्रिय गीतहरू प्रस्तुत गर्नेछ। कन्सर्टमा ब्यान्डका लोकप्रिय गीत ‘सम्बोधन’, ‘परेलीमा’, ‘सम्झी बस्छु’, ‘छुँदैन तिम्रो मायाले’, ‘यो मन त मेरो नेपाली हो’ लगायतका गीतहरू प्रत्यक्ष सुन्न पाइने अपेक्षासँगै एडिलेडका नेपाली संगीतप्रेमीमा उत्साह बढेको छ।
आयोजक थ्री केजी इन्टरटेनमेन्ट र गिरिश इन्टरटेनमेन्टका अनुसार कन्सर्टका लागि भोलि साँझ ७ बजे गेट ओपन हुनेछ। आयोजकले एडिलेड र आसपासमा रहेका नेपाली संगीतप्रेमीको उत्साहजनक सहभागिता रहने अपेक्षा गरेको छ।

संगीत र मनोरञ्जनसँगै मानवीय सेवाको सन्देशसमेत जोडिएको यो कन्सर्ट ‘टुगेदर फर नेपाल’ अभियानअन्तर्गत आयोजना हुँदैछ। कन्सर्टको प्रत्येक टिकट बिक्रीबाट २ अस्ट्रेलियन डलर नेपालका बाढीपहिरो प्रभावितको सहयोगका लागि छुट्याइनेछ।
अभियानमार्फत कम्तीमा २० हजार अस्ट्रेलियन डलर राहत सहयोग जुटाउने लक्ष्य राखिएको छ। यससँगै १९७४ एडीको अस्ट्रेलिया यात्रालाई सांगीतिक मनोरञ्जनसँगै नेपालका विपद् प्रभावितप्रति सहयोग र ऐक्यबद्धता जनाउने अभियानका रूपमा समेत अघि बढाइएको छ।
लामो समयदेखि नेपाली रक संगीतमा आफ्नो अलग पहिचान बनाएको १९७४ एडीका गीतहरू नेपालसँगै प्रवासमा रहेका नेपालीमाझ पनि उत्तिकै लोकप्रिय छन्। ब्यान्डको एडिलेड आगमनसँगै भोलिको कन्सर्टलाई लिएर यहाँका नेपाली संगीतप्रेमीमा उत्साह थपिएको छ।


प्रतिक्रिया