काठमाडौँ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना बारेमा जे जति टिका–टिप्पणी गर्न बाँकी छ, गरिहाल्नु भन्दै चुनौती दिएका छन् । बिहीबार सामाजिक सञ्जालमा एक सन्देश लेख्दै लामिछानेले यस्तो भनेका हुन् ।
लामिछानेले भनेका छन्, ‘अब मलाई भन्न बाँकी, गर्न बाँकी, लेख्न बाँकी केही भए भनिहाल्नु होला, गरीहाल्नु होला, लेखिहाल्नु होला। मेरो मौनता आजसम्मका लागि मात्रै हो। म अभिमन्यू होइन।’
नागरिकता प्रकरणको मुद्दामा दोषी ठहर भएर उपप्रधानमन्त्री, गृहमन्त्री, प्रतिनिधि सभा सदस्य पद गुमाएका लामिछाने पुनः गृहमन्त्री बन्ने प्रायसमा रहेको भन्दै चौतर्फि आलोचना खेपीरहेका छन् ।
सर्वोच्च अदालतको गत शुक्रबारको फैसलापछि यही आइतबार पुनः नेपालको नागरिकता लिएका लामिछाने गैरसांसदको रुपमा सरकारमा सहभागी भएर गृहमन्त्री बन्ने कसरतमा लागि रहेका छन्।
साझेदार दल एमालेका अध्यक्ष केपी ओली लामिछानेलाई गृहमन्त्री बनाउने पक्षमा छन् भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लामिछाने र उनको पार्टी रास्वपालाई गृहमन्त्री दिन नहुने पक्षमा छन्।
प्रतिक्रिया