ए डिभिजन लिग हेर्न १ सय र ५ सय रुपैयाँ

ए डिभिजन लिग हेर्न १ सय र ५ सय रुपैयाँ


काठमाडौं, २६ कात्तिक । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताका लागि दुई किसिमका टिकटको व्यवस्था गरेको छ । आगामी मंसिर ३ गतेदेखि सञ्चालन हुने प्रतियोगिता अवलोकनका लागि साधारणतर्फ प्रतिव्यक्ति एक सय र भीआईपीतर्फ पाँच सय रुपैयाँ निर्धारण गरिएको छ । एन्फाले काठमाडौंमा गरेको पत्रकार सम्मेलनमा महासचिव इन्द्रमान तुलाधरले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो ।
लिगको उद्घाटन खेल मंसिर ३ गते नवप्रवेशी सातदोबाटो युवा क्लब र फ्रेन्ड्स क्लबबीच हुनेछ । महासचिव तुलाधरले दर्शकको उपस्थितिलाई ध्यानमा राख्दै फ्लड लाइटमा पनि खेल खेलाइने जानकारी दिनुभयो । लिग निर्देशक सञ्जीव मिश्रले सामूहिक रूपमा क्लब राजी भए केही खेल पोखरामा पनि गर्ने तयारी भइरहेको बताउनुभयो ।
लिगमा १४ टोलीको सहभागिता रहने छ । त्रिभुवन आर्मी फुटबल क्लब, एपीएफ क्लब, मच्छिन्द्र क्लब, सङ्कटा क्लब, नेपाल पुलिस क्लब, हिमालयन शेर्पा क्लब, सातदोबाटो क्लब, मनाङ मर्स्याङ्दी क्लब, थ्री स्टार क्लब, एनआरटी क्लब, फ्रेन्ड्स क्लब, च्यासल युथ क्लब, जावलाखेल युथ क्लब र बिग्रेड ब्वाइज फुटबल क्लबले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् । अन्तिम स्थानमा रहने दुई टोली रेलिगेशनमा पर्नेछन् । लिग विजेता टोलीले ७५ लाख र उपविजेताले ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।