राजदूत पोखरेलले बुझाए न्यूजिल्याण्डका गभर्नरलाई ओहोदाको प्रमाणपत्र

राजदूत पोखरेलले बुझाए न्यूजिल्याण्डका गभर्नरलाई ओहोदाको प्रमाणपत्र



मेलबर्न, अष्ट्रेलिया ।

अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेलले न्यूजिल्याण्डका लागि गैरआवासीय राजदूतको ओहोदाको प्रमाणपत्र बुझाएका छन् । मंगलबार न्यूजिल्याण्डकी गभर्नर डेमे सिन्डी किरोलाई ओहोदाको प्रमाणपत्र बुझाइएको हो । नेपाल सरकारले केही अघि अष्ट्रेलियाका लागि नेपाली राजदूत पोखरेललाई न्यूजिल्याण्डको समेत गैरआवासीय राजदूत तोकेको थियो ।

न्यूजिल्याण्डको गभर्नर भवनमा आयोजना गरिएको विशेष कार्यक्रममा बोल्दै राजदूत पोखरेलले नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सन्देश सुनाएका थिए । राजदूत पोखरेलले दुईपक्षीय सम्बन्धको ऐतिहासिकता, सर एडमन्ड हिलारी र तेन्जिंग नोर्गे शेर्पाले जोडेको सम्बन्ध सेतु लगायतको चर्चा गरेका थिए ।

ओहोदाको प्रमाणपत्र बुझ्दै गभर्नर जनरल सिन्डी किरोले हालै नेपालमा भएको विमान दुर्घटनामा परी निधन भएका ७२ जनाको आत्माको शान्तिको कामना गरेकी थिईन् । दुई देशबीचको सम्बन्ध आगामी दिनमा अझ प्रगाढ हुने विश्वास आफुले लिएको उनले बताएकी थिईन् । उक्त अवसरमा राजदूत पोखरेल पत्नी बसुधा पोखरेल, न्यूजिल्याण्डको अवैतनिक वाणिज्यदूतहरु आत्माराम खनाल र दिनेश खड्का पनि उपस्थित थिए ।

करिब एक साता लामो न्यूजिल्याण्ड बसाईका क्रममा राजदूत पोखरेलले त्यहाँका मन्त्रीहरुसँग भेट गर्ने कार्यक्रम छ ।