मैले झुठ बोलेको छैन : स्कट मोरिसन

मैले झुठ बोलेको छैन : स्कट मोरिसन


अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन यतिबेला आलोचनाको केन्द्रमा छन् । उनले फ्रान्ससँगको चर्चित सबमरिन डिलमा धोका दिएको आरोप लागेपछि उनले अहिले स्पष्टीकरण दिँदै हिंड्नु परेको छ । यसै प्रसंगमा फ्रान्सका राष्ट्रपति ईम्यानुयल म्याक्रोनले स्कट मोरिसनले ढाँटेको प्रतिक्रिया दिएका थिए भने उनले दुई देशबीचको विश्वास तोडेको बताएका थिए ।


उता पूर्वप्रधानमन्त्री माल्कम टर्नबुल जसले वर्तमान प्रधानमन्त्री स्कट मोरिसनलाई अर्थमन्त्री बनाएका थिए उनले पनि अर्थमन्त्री हुँदा मोरिसनले ढाँट्ने गरेको खुलासा गरेपछि यतिबेला प्रधानमन्त्री मोरिसन स्पष्टीकरणको चरणमा छन् । उनले भनेका छन्, मैले सार्वजनिक जीवनमा कुनै झुठो बोलेको छैन ।
अझ यो साता उनले ईलेक्ट्रोनिक कारलाई दिइने सहुलियतका सम्बन्धमा लिएको नीतिका कारण उनी अवसर मिल्दा पूरै युटर्न हुन सक्ने व्यक्ति हुन् भनी चर्चा सुरु भएको छ । यसैक्रममा मेलबर्नको थ्रीएडब्लू रेडियोमा उनले यस्तै स्पष्टीकरण दिए ।


उद्घोषक : तपाईंले कहिल्यै सार्वजनिक जीवनमा झुठो बोल्नुभएको छ ?


स्कट मोरिसन : मलाई विश्वास छैन, अहँ छैन बोलेको छैन ।


उद्घोषक : तपाईंलाई कस्तो लाग्छ जब तपाईंको पूर्वसहकर्मी माल्कम टर्नबुलले तपाईंलाई सिरियल लायर भन्ने उपमा दिएका छन् ?


स्कट मोरिसन : हेर्नुस् यो राजनीति हो । यहाँ सानो कुरामा प्रतिक्रिया दिएर कामै छैन ।


प्रधानमन्त्री स्कट मोरिसनले सार्वजनिक जीवनमा भएका व्यक्तिहरुमा मोटो छाला आवश्यक भएको भन्दै आरोप प्रत्यारोप र वाद विवाद भइरहने पनि बताए । उनले पूर्वप्रधानमन्त्री माल्कम टर्नबुलले आफुलाई धोकेबाज भनेर दिएको प्रतिक्रियापछि कुनै कुराकानी नभएको र कुराकानी गर्ने ईच्छा पनि नरहेको बताएका छन् ।