एडिलेड, अस्ट्रेलिया। दक्षिण अस्ट्रेलियाको एडिलेडमा शनिबार, नोभेम्बर २८, २०२६ मा आयोजना हुने छैटौँ संस्करणको नेपाल फेस्टिभलको सम्पूर्ण तयारी पूरा भएको छ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण अस्ट्रेलियाको आयोजनामा एडिलेडस्थित टोरेन्स परेड ग्राउन्डमा हुने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको बिहीबार आयोजित पत्रकार सम्मेलनमा एनआरएनए दक्षिण अस्ट्रेलियाका संयोजक थिर गुरुङले जानकारी दिएका छन्।
पत्रकार सम्मेलनमा बोल्दै संयोजक गुरुङले नेपाल फेस्टिभल नेपाली समुदायको साझा उत्सव मात्र नभई नेपाल र नेपालीको पहिचानलाई अस्ट्रेलियाको बहुसांस्कृतिक समाजमा स्थापित गर्ने महत्वपूर्ण माध्यम भएको बताए। उनले महोत्सवले नेपाली समुदायबीचको एकता, आपसी सद्भाव र सहकार्यलाई थप मजबुत बनाउनुका साथै नेपालको कला, संस्कृति र पर्यटन प्रवर्द्धनमा समेत महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे।
गुरुङले महोत्सवलाई सफल बनाउन विभिन्न संघसंस्था, व्यवसायी, स्वयंसेवक तथा समुदायबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गर्दै नेपाल फेस्टिभल सम्पूर्ण नेपाली समुदायको साझा उत्सव भएको उल्लेख गरे।

महोत्सवमा दक्षिण अस्ट्रेलियाका प्रिमियर प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम रहेको छ। त्यस्तै, बहुसांस्कृतिक मामिलामन्त्री, विपक्षी दलका नेता, स्थानीय तथा राज्य सरकारका प्रतिनिधि, विभिन्न संघसंस्थाका पदाधिकारी तथा अन्तरराज्यबाट आउने विशिष्ट अतिथिहरूको सहभागिता रहने बताइएको छ।
पत्रकार सम्मेलनमा बोल्दै नेपाल फेस्टिभलका कार्यक्रम संयोजक तथा एनआरएनए दक्षिण अस्ट्रेलियाका उपसंयोजक गणेश पराजुलीले विभिन्न २० वटा समिति गठन गरी महोत्सवको तयारी गरिएको जानकारी दिए। उनले महोत्सव सफल बनाउन अहोरात्र खटिएका सम्पूर्ण स्वयंसेवकप्रति विशेष आभार व्यक्त गरे।
एनआरएनए दक्षिण अस्ट्रेलियाका सचिव युवराज पहाडीले नेपाल फेस्टिभल नेपाली समुदायको कुम्भमेलाका रूपमा स्थापित भएको बताए। उनले स्थानीय तथा राज्य सरकार, दक्षिण अस्ट्रेलियामा सञ्चालित नेपाली व्यवसाय, विभिन्न संघसंस्था तथा नेपाली समुदायको सहयोग र सहकार्यबाटै यस्तो विशाल महोत्सव आयोजना गर्न सम्भव भएको उल्लेख गरे।
त्यस्तै, एनआरएनए दक्षिण अस्ट्रेलियाका युवा संयोजक संगम पाण्डेले नेपाली समुदायको पहिचान र गौरवसँग जोडिएको महोत्सवमा आफ्नो भूमिका निर्वाह गर्न पाउनु आफैँमा गर्वको विषय भएको बताए।
महोत्सवको प्रमुख सांगीतिक आकर्षणका रूपमा नेपालबाट आएका चर्चित गायक अनिल सिंह र लोकप्रिय गायिका रचना रिमाल रहनेछन्। गायक सिंहका ‘प्रेम पत्र’, ‘इन्जिन गाडी’, ‘डुब्न देऊ’ लगायतका गीत चर्चित छन् भने गायिका रिमालका ‘फोटो फिरिममा’, ‘मिनरल वाटर’, ‘उनको प्रीति’ लगायतका गीत दर्शक तथा श्रोतामाझ लोकप्रिय छन्। दुवै कलाकारको विशेष सांगीतिक प्रस्तुतिले महोत्सवलाई थप उल्लासमय बनाउने अपेक्षा गरिएको छ। साथै, स्थानीय कलाकारहरूको सांस्कृतिक तथा सांगीतिक प्रस्तुति, नेपाली मौलिक भेषभूषा, परम्परागत खानपान तथा कला–संस्कृति महोत्सवका प्रमुख आकर्षण रहनेछन्।



नेपाली भाषा, कला, संस्कृति र मौलिक परम्परालाई अस्ट्रेलियाको बहुसांस्कृतिक समाजमा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित महोत्सवमा आठदेखि दश हजारसम्म सहभागी हुने आयोजकको अपेक्षा छ।
संयोजक गुरुङले नेपाल र नेपालीको गौरव तथा पहिचानसँग जोडिएको यस महोत्सवमा सपरिवार उपस्थित भई नेपाली कला, संस्कृति र मौलिकताको उत्सव मनाउन दक्षिण अस्ट्रेलियावासी सम्पूर्ण समुदायलाई आग्रह गरेका छन्।

प्रतिक्रिया