मेलबर्न, अष्ट्रेलिया । नेपालको लोकप्रिय अनलाइन समाचार पोर्टल अनलाइनखबरले अस्ट्रेलियामा व्यवसायिक सफलता हासिल गरेका नेपाली युवा सनराइज ज्ञवालीलाई आफ्नो विशेष प्रस्तुति ‘पौरखी प्रवासी’ मा समेटेको छ। मेलबर्नमा बसोबास गर्ने सनराईज ज्ञवालीको सफलताको कथालाई नेपालको प्रतिष्ठित सञ्चारमाध्यमले प्रेरणाको दृष्टिकोणमा प्रस्तुत गर्नु पक्कै पनि भिक्टोरियावासीका लागि खुशीको कुरा हो ।
आठ वर्षअघि पारिवारिक आर्थिक कठिनाइ र बुवाको निधनपछि थपिएको जिम्मेवारीका बीच अस्ट्रेलिया पुगेका ज्ञवालीले सुरुवाती दिनमा भाँडा माझ्ने, गाडी धुने, केएफसीमा काम गर्ने र ट्रक चलाउनेजस्ता सामान्य कामबाट आफ्नो संघर्ष सुरु गरेका थिए। तर उनले कामलाई केवल आम्दानीको माध्यम बनाएनन्, हरेक अवसरलाई नयाँ सीप र अनुभव हासिल गर्ने माध्यम बनाए।
आईटी विषयमा अध्ययन गरेका उनले पछि अस्ट्रेलियाको ऊर्जा क्षेत्रमा भविष्य देखेर राम्रो आम्दानी भइरहेको ट्रक ड्राइभिङको कामसमेत छोडे। साताको १२०० डलर कमाइ छोडेर ५०० डलर तलबमा ऊर्जा कम्पनीमा काम सुरु गरेका उनले छोटो समयमै इन्स्टलेसन म्यानेजर र अपरेसन म्यानेजरको जिम्मेवारी सम्हाले।
सन् २०२२ मा आफ्नै कम्पनी ‘सनराइज सेफ इनर्जी’ स्थापना गरेका ज्ञवाली अहिले अस्ट्रेलियाको ऊर्जा क्षेत्रमा स्थापित युवा व्यवसायीका रूपमा चिनिन्छन्। उनको कम्पनीमा हाल करिब ८२ जना कर्मचारी कार्यरत छन् भने कम्पनीको नेटवर्थ झन्डै २.२ मिलियन अमेरिकी डलर अर्थात् करिब ३० करोड रुपैयाँ रहेको अनलाइनखबरले उल्लेख गरेको छ।
उनको यो सफलता अस्ट्रेलिया अध्ययनका लागि जाने नेपाली विद्यार्थीका लागि विशेष प्रेरणाको विषय बनेको छ। विदेशमा पढाइसँगै काम गर्ने अवसरलाई सही ढङ्गले उपयोग गर्दै सीप, प्रविधि, व्यवस्थापन र व्यावसायिक अनुभव हासिल गर्न सके अन्तर्राष्ट्रियस्तरको उद्यमी बन्न सकिन्छ भन्ने उदाहरण ज्ञवालीको यात्राले प्रस्तुत गरेको छ।
अस्ट्रेलियामा व्यवसाय विस्तार गरे पनि ज्ञवालीको नेपालसँगको सम्बन्ध उत्तिकै बलियो छ। उनले काठमाडौंमा जीपीजी सर्भिसेस प्रालि सञ्चालन गर्दै २२ जना नेपाली युवालाई रोजगारी दिएका छन्। आगामी १० वर्षभित्र नेपाल फर्किएर ऊर्जा क्षेत्रमा लगानी विस्तार गर्ने र स्वदेशमै थप रोजगारी सिर्जना गर्ने उनको योजना छ।
संघर्ष, निरन्तर सिकाइ र उद्यमशील सोचबाट छोटो समयमै हासिल गरेको उनको उपलब्धिले विदेश जाने नेपाली युवालाई केवल कमाइमा सीमित नभई ज्ञान र सीप हासिल गरेर अन्तर्राष्ट्रियस्तरमा आफ्नो पहिचान बनाउन प्रेरित गरेको छ।

प्रतिक्रिया