काठमाडौं । नेपाल प्रिमियर लिग एनपिएल २०२६ को ‘च्याम्पियन्स ट्रफी टुर’ मंसिर १३ देखि २० गतेसम्म सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा सञ्चालन हुने भएको छ।
आठदिने टुरमा प्रदेशका नौवटै जिल्लाका धार्मिक, पर्यटकीय तथा प्रमुख बजार क्षेत्रमा ट्रफी प्रदर्शन र र्याली आयोजना गरिनेछ। तालिकाअनुसार मंसिर १३ गते अछामको बैजनाथ मन्दिरदेखि साँफेबगरसम्म र्याली तथा बाजुराको मार्तडीमा कार्यक्रम हुनेछ। मंसिर १४ गते डोटीको शैलेश्वरी मन्दिर र दिपायल बजार हुँदै डडेलधुरा बजार तथा उग्रतारा मन्दिरमा कार्यक्रम आयोजना गरिनेछ।
मंसिर १५ गते बैतडीको निङ्लासैनी मन्दिर र गोठालापानी, १६ गते दार्चुलाको मालिकार्जुन मन्दिर र खलंगा बजारमा ट्रफी पुर्याइनेछ। त्यसैगरी, १७ गते बझाङको चैनपुर बजार र १८ गते डडेलधुराको परशुराम धाममा ट्रफी प्रदर्शन हुनेछ।
मंसिर १९ गते कैलाली र कञ्चनपुरका टीकापुर पार्क, चिसापानी, लम्की, घोडाघोडी ताल, अत्तरिया र महेन्द्रनगर हुँदै दोधारा चाँदनी पुलसम्म ट्रफी टुर सञ्चालन हुनेछ।
टुरको अन्तिम दिन मंसिर २० गते धनगढी चौराहादेखि महोत्सव मैदानसम्म र्याली निकालिनेछ। साँझ ५ बजे महोत्सव मैदानमा कन्सर्ट आयोजना गरी टुर समापन गरिने कार्यक्रम छ।
ट्रफी टुरमार्फत एनपिएलप्रति जनचासो र क्रिकेटको लोकप्रियता बढाउने तथा सुदूरपश्चिमका विभिन्न क्षेत्रलाई प्रतियोगितासँग जोड्ने लक्ष्य राखिएको छ।

प्रतिक्रिया