काठमाडौँ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौँमा उजुरी परेको छ । राहदानीबारे अनुसन्धान गर्न सिन्धुलीका युवराज पौडेल (सफल) ले मंगलबार काठमाडौँ प्रहरीमा उजुरी दिएका हुन् ।
खारेज भएको नागरिकताका आधारमा राहदानी लिएको भन्दै लामिछानेलाई राहदानी ऐन अनुसार कारबाही गर्न पौडेलले माग गरेका छन्। तर, प्रहरीले उनको जाहेरी दर्ता गरेको छैन । नागरिकता सम्बन्धी विवादमा सर्वोच्च अदालतले गरेको फैसलाको पूर्णपाठ नआएको हुनाले जाहेरी दर्ता नगरिएको काठमाडौँका एसएसपी दान बहादुर कार्कीले जानकारी दिए ।
पौडेलले लामिछानेविरुद्ध अध्यागमन विभाग कालिकास्थानमा पनि जाहेरी बुझाएका छन्। अध्यागमन विभागले पनि दर्ता गर्न अस्वीकार गरेको छ ।
प्रहरीमा राहदानी ऐन अनुसार कारवाही हुनुपर्ने माग सहितको जाहेरी छ भने अध्यागमन विभागमा अध्यागमन ऐन अनुसार कारवाही हुनुपर्ने माग छ । राहदानी ऐनको दफा २१ (क)मा झुटो विवरण दिई राहदानी लिन नहुने उल्लेख छ । त्यसरी राहदानी लिएमा दुईदेखि पाँच लाख रुपैयाँ जरिवाना, एकदेखि तीन वर्ष कैद सजाय वा दुवै सजाय हुने व्यवस्था छ ।
प्रतिक्रिया