पोखरा विमान दुर्घटनाः ६ शव पहिचान गर्न डीएनए परीक्षण सुरु

पोखरा विमान दुर्घटनाः ६ शव पहिचान गर्न डीएनए परीक्षण सुरु


काठमाडौँ ।

पोखरामा विमान दुर्घटनामा मृत्यु भएका मध्ये ६ जनाको शव पहिचान गर्न डीएनए परीक्षण सुरु भएको छ ।

त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालका फरेन्सिक मेडिसिन विभागका प्रमुख डा. गोपालकुमार चौधरीले दुर्घटनामा परी शव अत्यधिक जलेका कारणले डीएनएबाट मात्र शव पहिचान हुने भएकाले परीक्षण सुरु गरिएको जानकारी दिए ।

उनका अनुसार नेपाल प्रहरीको डीएनए प्रयोगशालामा शव पहिचान सुरु गरिएको हो। उनले परिवारको नमुना संकलन र ६ शवको हड्डी र दाँतको डीएनए निकाली प्रयोगशालामा पठाइसकेको जानकारी दिए । यो विधिबाट शव पहिचान गर्न कम्तीमा दुई हप्ता लाग्ने जनाइएको छ ।

काठमाडौं ल्याएका ४८ मध्ये फरेन्सिक र फिंगर फ्रिन्टबाट ४२ जनाको शव पहिचान गरिएको थियो। पोखरामा २२ जनाको फरेन्सिक जाँच शव पहिचान गरिएको हो ।

यही माघ १ गते काठमाडौंबाट पोखरातर्फ गइरहेको यती एयरलाइन्सको जहाज सेती नदीको खोँचमा दुर्घटना हुँदा ७२ जनाको निधन भएको थियो ।