प्रधानमन्त्री देउवा राष्ट्रिय जनगणना अभियानमा सहभागी

प्रधानमन्त्री देउवा राष्ट्रिय जनगणना अभियानमा सहभागी


काठमाडौं, २५ कात्तिक (रासस) । प्रधानमन्त्री शेरबहादुर देउवाले १२ औँ राष्ट्रिय जनगणना अभियानमा सहभागी हुनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज तथ्याङ्क विभागका गणकहरू पुगेर प्रधानमन्त्रीको पारिवारिक तथ्याङ्क सङ्कलन गरिएको हो ।
केन्द्रीय तथ्याङ्क विभागका निर्देशक ढुण्डीराज लामिछानेले प्रधानमन्त्रीको जनगणना गरेर आम जनतामा सकारात्मक सन्देश प्रवाह गरिएको सञ्चारकर्मीलाई जानकारी दिनुभयो । राष्ट्रिय जनगणनाजस्तो महान् अभियानमा राष्ट्रपति र प्रधानमन्त्रीको पनि जनगणना हुन्छ र अभियानमा आम जनसहभागिता होस् भन्ने साङ्केतिकरूपमा सन्देश दिनका लागि तथ्याङ्क लिइएको उहाँले उल्लेख गर्नुभयो ।
निर्देशक लामिछानेकाअनुसार विभागका महानिर्देशकले प्रधानमन्त्रीको पारिवारिक विवरण सङ्कलन गर्नुभएको थियो । राष्ट्रिय योजना आयोगका सचिवले जनगणनाबारे जानकारी गराउँदै यसको हरेक क्षेत्रमा पर्ने प्रभावबारे प्रधानमन्त्री देउवालाई अवगत गराउनुभएको थियो ।
राष्ट्रपति विद्यादेवी भण्डारीको पहिलो विवरण सङ्कलन गरेर आजदेखि देशभर १२ औँ राष्ट्रिय जनगणना–२०७८ प्रारम्भ भएको हो । राष्ट्रपतिपछि प्रधानमन्त्रीको जनगणना गरिएको छ । आजैबाट देशभर जनगणना सुरु गरिएको छ । राष्ट्रिय जनगणना अभियान कात्तिक २५ देखि सुरु भई मङ्सिर ९ गतेसम्म १५ दिनको कार्यक्रममा रहने र गणकहरूले हरेक नेपालीको घरदैलोमा पुगेर गणना गर्नेछन् ।
जनगणनामा कोही नछुटुन् भनेर विभागले प्रविधिको प्रयोग गरेको छ । विदेशमा कूटनीतिक नियोगमार्फत गणना गरिनेछ । दार्चुलाको लिम्पियाधुरामा कूटनीतिक पहलबाट समन्वय गरेर वा वैकल्पिक विधिबाट भए पनि जनगणना गरिने विभागले जनाएको छ ।