सिड्नीमा नेपाल फेस्टिभलको तयारी अन्तिम चरणमा, नोभेम्बर ७ मा ११औँ संस्करण हुँदै

सिड्नीमा नेपाल फेस्टिभलको तयारी अन्तिम चरणमा, नोभेम्बर ७ मा ११औँ संस्करण हुँदै


सिड्नी, अस्ट्रेलिया। गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाले आगामी नोभेम्बर ७ मा सिड्नीको डार्लिङ हार्बरस्थित टम्बालोङ पार्कमा आयोजना हुने नेपाल फेस्टिभल २०२६ को तयारीलाई तीव्र बनाएको छ।

एनआरएनए अस्ट्रेलियाअन्तर्गत न्यु साउथ वेल्स राज्य समन्वय परिषद् (एससीसी) को आयोजनामा हुने महोत्सवको यो ११औँ संस्करण हो। ‘पुनर्निर्माण र पर्यटन प्रवर्द्धन’ भन्ने मूल नारासहित आयोजना हुने कार्यक्रममा चर्चित गायक प्रकाश सपुत र गायिका रचना रिमालले विशेष सांगीतिक प्रस्तुति दिनेछन्।

महोत्सवमा नेपाली मौलिक गीतसंगीत, नृत्य, परम्परागत भेषभूषा, खानपान तथा नेपालको सांस्कृतिक विविधता झल्काउने कार्यक्रम समावेश गरिने आयोजकले जनाएको छ। अस्ट्रेलियाली राजनीतिक तथा सामुदायिक क्षेत्रका प्रतिनिधि, नेपाली संघसंस्थाका पदाधिकारी, व्यवसायी र सर्वसाधारणको सहभागिता रहने अपेक्षा गरिएको छ। महोत्सवको मुख्य प्रायोजक मार्को होम्स रहेको छ।

एनआरएनए अस्ट्रेलियाका अध्यक्ष सन्तोष कुँवरले नेपाल फेस्टिभललाई नेपाली समुदायको सांस्कृतिक पहिचान र एकता प्रवर्द्धन गर्ने महत्त्वपूर्ण अवसरका रूपमा लिइएको बताएका छन्। प्रवासमा नेपाली भाषा, संस्कृति र परम्पराको संरक्षण गर्दै नयाँ पुस्तासम्म हस्तान्तरण गर्नु महोत्सवको प्रमुख उद्देश्य रहेको उनको भनाइ छ।

एनआरएनए न्यु साउथ वेल्सकी राज्य संयोजक उषा किरण बरिया पोखरेलले अस्ट्रेलियामा जन्मेहुर्केका नेपाली बालबालिका तथा युवालाई आफ्नो मौलिक संस्कृतिसँग जोड्न महोत्सवले सहयोग पुर्‍याउने बताएकी छन्। उनले नेपाली समुदायका सबै पक्षलाई परिवारसहित कार्यक्रममा सहभागी हुन आग्रह गरेकी छन्।

त्यसैगरी, एनआरएनए एससीसी न्यु साउथ वेल्सका सचिव प्रताप पन्थीले महोत्सव सफल बनाउन विभिन्न संघसंस्था, व्यवसायी, कलाकार, स्वयंसेवक तथा समुदायका सदस्यहरूबीच समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन्।

सन् २००६ मा सिड्नीबाट सुरु भएको नेपाल फेस्टिभल प्रत्येक दुई वर्षमा आयोजना हुँदै आएको छ। सिड्नीबाट सुरु भएको यो सांस्कृतिक कार्यक्रम अहिले अस्ट्रेलियाका विभिन्न राज्य तथा टेरिटोरीमा विस्तार भएको छ।

यस वर्षको महोत्सवमा नेपाली कला र संस्कृतिको प्रदर्शनसँगै नेपालको प्राकृतिक सौन्दर्य, ऐतिहासिक सम्पदा तथा पर्यटकीय गन्तव्यको प्रचारप्रसारमा जोड दिइनेछ। आयोजकले नेपाली समुदायका साथै अस्ट्रेलियाली नागरिक र अन्य समुदायका सदस्यहरूलाई समेत महोत्सवमा सहभागी हुन आमन्त्रण गरेको छ।