तिहारको रौनकले रंगिँदै एडिलेड : नेपाली समाज र पाठशालाले देउसी–भैलोसहित सांस्कृतिक कार्यक्रम गर्दै

तिहारको रौनकले रंगिँदै एडिलेड : नेपाली समाज र पाठशालाले देउसी–भैलोसहित सांस्कृतिक कार्यक्रम गर्दै


एडिलेड, अस्ट्रेलिया। नेपालीहरूको दोस्रो ठूलो पर्व तिहारको अवसरमा दक्षिण अस्ट्रेलियाको एडिलेडमा देउसी–भैलोसहित दुई छुट्टाछुट्टै सांस्कृतिक कार्यक्रम आयोजना हुने भएका छन्। नेपाली कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवासमा हुर्किरहेको नयाँ पुस्तालाई नेपाली मौलिक पहिचानसँग जोड्ने उद्देश्यले एडिलेड नेपाली समाज अस्ट्रेलिया र नेपाली पाठशाला एडिलेडले कार्यक्रम आयोजना गर्न लागेका हुन्।

एडिलेड नेपाली समाज अस्ट्रेलियाले आगामी नोभेम्बर ९, सोमबार ओकल्यान्ड्स रिक्रिएसन प्लाजा स्केट पार्कमा देउसी–भैलो कार्यक्रम आयोजना गर्ने भएको छ। अपराह्न ४ बजेदेखि सुरु हुने कार्यक्रममा एडिलेड नेपाली विद्यालयका बालबालिकाको विशेष देउसी–भैलो प्रस्तुति रहनेछ। विद्यालयका विद्यार्थीहरूले मादलको तालमा परम्परागत देउसी–भैलो प्रस्तुत गर्दै नेपाली मौलिक संस्कृतिको झल्को दिनेछन्। विगतका वर्षहरूदेखि निरन्तर आयोजना हुँदै आएको कार्यक्रममा यस वर्ष बालबालिकाको सांस्कृतिक सहभागितालाई विशेष प्राथमिकता दिइएको आयोजकले जनाएको छ।

एडिलेड नेपाली समाज अस्ट्रेलियाका सचिव प्रदीप निरौलाले नेपाली संस्कृति र परम्पराको संरक्षणसँगै समुदायबीच आपसी सद्भाव र सम्बन्ध सुदृढ बनाउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिए। उनले एडिलेडमा आयोजना हुने अन्य सामुदायिक कार्यक्रमसँग समन्वय गर्न यसअघि सार्वजनिक गरिएको मिति परिवर्तन गरी नोभेम्बर ९ मा कार्यक्रम तय गरिएको बताए। संशोधित मिति, समय र स्थानअनुसार कार्यक्रममा सहभागी हुन समाजले नेपाली समुदायलाई आग्रह गरेको छ।

एडिलेड नेपाली विद्यालयका प्रिन्सिपल हिमाल कँडेलले अस्ट्रेलियामा हुर्किरहेको दोस्रो पुस्तालाई नेपाल र नेपाली संस्कृतिसँग जोड्न यस्ता कार्यक्रम महत्त्वपूर्ण हुने बताए। उनका अनुसार विदेशमा जन्मिएका तथा हुर्किरहेका बालबालिकालाई नेपाली भाषा र संस्कृतिबारे सैद्धान्तिक ज्ञान दिनु मात्र पर्याप्त नहुने भएकाले उनीहरूलाई सांस्कृतिक गतिविधिमा प्रत्यक्ष सहभागी गराउन आवश्यक रहेको बताए। विद्यालयका शिक्षक शिव काफ्लेले विगत केही महिनादेखि विद्यार्थीहरूलाई नियमित रूपमा मादल बजाउन सिकाउँदै आएका छन्। उनकै प्रशिक्षणमा विद्यार्थीहरूले देउसी–भैलोको तालमा मादलसहित विशेष प्रस्तुति दिने तयारी गरिरहेका छन्।

त्यसैगरी, नेपाली पाठशाला एडिलेडले नोभेम्बर ७, शनिबार पाराडाइजस्थित थोर्नडन पार्कमा ‘सामुदायिक पिकनिक तथा देउसी–भैलो कार्यक्रम २०२६’ आयोजना गर्ने भएको छ। दिउँसो १ बजेदेखि सुरु हुने कार्यक्रममा देउसी–भैलो, नेपाली गीत–संगीत, नृत्य तथा बालबालिका र परिवारका लागि विभिन्न खेलकुद एवं मनोरञ्जनात्मक गतिविधि समावेश गरिने आयोजकले जनाएको छ।

नेपाली पाठशाला एडिलेडका अध्यक्ष देवेन्द्र खरेलले प्रवासमा नेपाली भाषा, संस्कृति र परम्पराको संरक्षणसँगै नयाँ पुस्तामा त्यसको हस्तान्तरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको बताए। उनका अनुसार व्यस्त जीवनशैलीका कारण नेपाली परिवारबीच भेटघाट र सांस्कृतिक गतिविधिमा सहभागी हुने अवसर सीमित भइरहेका बेला सामुदायिक पिकनिक तथा देउसी–भैलो कार्यक्रमले परिवार र समुदायलाई एकै ठाउँमा जोड्नेछ। उनले बालबालिकालाई आफ्नो मौलिक संस्कृतिसँग परिचित गराउनु पाठशालाको प्रमुख प्राथमिकता रहेको उल्लेख गर्दै कार्यक्रममा परिवारसहित सहभागी हुन एडिलेडवासी नेपाली समुदायलाई आग्रह गरे।

पाठशालाका प्रिन्सिपल चन्द्रमणि पाण्डेले विदेशमा हुर्किरहेका नेपाली मूलका बालबालिकालाई आफ्नो भाषा, संस्कृति र परम्परासँग जोडिराख्नु महत्त्वपूर्ण चुनौती र जिम्मेवारी दुवै भएको बताए। उनले कक्षाकोठामा सिकाइने भाषा र सांस्कृतिक ज्ञानलाई चाडपर्व तथा सामुदायिक गतिविधिमार्फत व्यवहारमा उतार्ने अवसर प्रदान गर्न यस्ता कार्यक्रम आयोजना गरिएको जानकारी दिए। उनका अनुसार देउसी–भैलोजस्ता मौलिक सांस्कृतिक गतिविधिमा बालबालिकाको प्रत्यक्ष सहभागिताले उनीहरूमा नेपाली पहिचानप्रति अपनत्व बढाउनुका साथै पुस्ताबीचको सांस्कृतिक सम्बन्धलाई बलियो बनाउन सहयोग पुग्नेछ।

प्रवासमा नेपाली भाषा, संस्कृति र परम्पराको निरन्तरताबारे चासो बढिरहेका बेला एडिलेडमा आयोजना हुन लागेका यी दुई कार्यक्रमलाई सामुदायिक एकता र सांस्कृतिक पुस्तान्तरणको अवसरका रूपमा हेरिएको छ। विशेषगरी अस्ट्रेलियामा जन्मिएका तथा हुर्किरहेका नेपाली मूलका बालबालिकालाई देउसी–भैलो, मादल र सामूहिक सांस्कृतिक गतिविधिमार्फत आफ्नो पुर्ख्यौली पहिचानसँग जोड्ने प्रयासले कार्यक्रमलाई थप अर्थपूर्ण बनाउने अपेक्षा गरिएको छ। दुवै आयोजक संस्थाले नेपाली परिवार, अभिभावक तथा शुभेच्छुकहरूलाई कार्यक्रममा सहभागी भई तिहारको खुसी साटासाट गर्न आह्वान गरेका छन्।