धनकुटा महोत्सव भागदौड घटनाः रुशा राई भन्छिन्- ‘भित्तामा ढेपिएर बालबाल बाँच्यौँ’

धनकुटा महोत्सव भागदौड घटनाः रुशा राई भन्छिन्- ‘भित्तामा ढेपिएर बालबाल बाँच्यौँ’


काठमाडौँ । शनिबार रातको ८ बजेर ३० मिनेटतिर होला धनकुटाको टुँडिखेलमा मान्छेको थामिनसक्नुको भीड जम्मा भइसकेको थियो।

टिकट हातमा लिएर गेटबाट मान्छेभित्र पस्न तँछाडमछाड गरिरहेका थिए। तीन हजार क्षमताको मैदानमा करिब सात हजार मान्छेको भीड जम्मा भइसकेको थियो।

गेटमा छेकेर बसेका बेला प्रहरीलाई ठूलो भीड नियन्त्रण गर्न हम्मे भयो। तर्साउन प्रहरीले लाठी चार्ज गर्‍यो। भीड झन् आक्रोशित हुँदै गेटतिर बढ्यो। अगाडिको समस्या पछाडिका मान्छेलाई थाहा थिएन। पछाडिबाट भीडले ठेल्दै ल्याउँदा अगाडि रहेका मान्छे च्यापिएर घाइते भए।

उद्योग वाणिज्य संघ धनकुटाले आयोजना गरेको धनकुटा महोत्सवको आठौँ दिनको दृश्य हो। भीड नियन्त्रण गर्न नसक्दा भएको भागदौडमा बालबालिकासहित ३१ जना घाइते भएका छन्।

१६ जनाको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको छ। १६ मध्ये नौ जनाको हाल पनि उपचार भइरहेको छ भने अन्यलाई उपचारपछि घर पठाइएको छ।

धनकुटा–५ का विष्णु राईका छ वर्षीय छोरा अविहाङ लिम्बू र नाम नखुलेका करिब तीन वर्षीय बच्चालाई विराटनगर लगिएको धनकुटाका प्रहरी उपरीक्षक लक्ष्मीराज अधिकारीले जानकारी दिए।

प्रतिष्ठानमा उपचार सम्भव नभएपछि विराटनगर लगिएको हो। उनीहरूको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचार भइरहेको छ। अन्य भने स्थानीय अस्पतालमा उपचारपछि घर फर्किएका छन्।

धनकुटा–७ अस्पताल अगाडिकी रुशा राई परिवारसहित महोत्सव गएकी थिइन्। उनकी २२ वर्षीया बहिनी अनिशा राई साथीहरूसँग एक घण्टा अगाडि महोत्सव गएकी थिइन्।

उक्त समयमा अगाडि रहेकी अनिशालाई अचेत अवस्थामा भीडमा परिवारले भेटे। रुशा र उनका बुबा प्रदीप भीड छिचोल्दै भित्तामा छेउ लागेर बालबाल बचेको सुनाउँछन्।

ुएक मिनेट हामी ढिला गरेका भए हामी सबैको हालत उस्तै हुने थियो। भित्तामा छेउ लागेर बच्यौँ। कसरी यस्तो अवस्था भयो केही थाहा भएन। हामी कसरी बच्यौँ थाहा छैन। भीडबाट बहिनीलाई खोज्दै गर्दा बेहोस अवस्थामा लडेको भेटेर बाहिर निकाल्यौँु, रुशाले भनिन्।

शनिबार राति उपचारका लागि धरान ल्याइएकी अनिशाकी दिदी–बहिनी प्रतिष्ठानमा उपचाररत् छन्। बहिनीको आज बिहानमात्र होस खुलेको उनले बताए।

अनिशाको अनुहार पूरै कालो भएको छ। पानी पेट र ढाड दुखिरहेको उनले बताए। अनिशासँगै अन्य आठ जनाको बिपी प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भइरहेको छ।

उपचारका क्रममा चिकित्सकले समय नदिएको उनीहरूको गुनासो छ। आयोजक संस्थाबाट आइतबार बिहान आएर बिरामीको अवस्था बुझे पनि उपचारका लागि अस्पतालसँग कुनै कुरा नगरेको रुशाले गुनासो गरिन्।

प्रतिष्ठानस्थित प्रहरी पोष्टका प्रहरी जवान रुपेशकुमार यादवका अनुसार नौ जनाको उपचार भइरहेको र घाइतेको अवस्था सुधारोन्मुख छ। चौध वर्षमुनिका सबै डिस्चार्ज भएको उनले बताए।

यसैबीच उद्योग वाणिज्य संघ धनकुटाले आइतबार साँझ नै पत्रकार सम्मेलन गरी घटना र घाइतेको अवस्थाबारे जानकारी गराएको छ।

घटनाप्रति दुःखसमेत व्यक्त गरेको छ। जिल्ला समन्वय समितिका उपप्रमुख सावित्रा राईले पनि घाइतेलाई प्रतिष्ठानमा पुगेर भेटेकी छन्। रासस