सिड्नी, अष्ट्रेलिया। अष्ट्रेलियाको न्यु साउथ वेल्स राज्यमा सञ्चालित सिड्नी मेट्रोले नेपाली भाषी यात्रुहरूलाई लक्षित गर्दै नयाँ सुविधा सुरु गरेको छ। अब सिड्नी मेट्रोमा यात्रा गर्ने नेपालीहरूले नेपाली भाषा बोल्न सक्ने कर्मचारी पहिचान गरेर आफ्नै भाषामा सहयोग तथा जानकारी लिन सक्ने भएका छन्।
सिड्नी मेट्रोले विभिन्न भाषिक तथा सांस्कृतिक पृष्ठभूमिका यात्रुलाई सहज सेवा प्रदान गर्ने उद्देश्यले कर्मचारीको पोसाकमा उनीहरूले बोल्न सक्ने भाषाको नाम उल्लेख भएको ब्याज राख्ने व्यवस्था गरेको हो।
मेट्रोका कर्मचारीहरूले आफ्नो पोसाकमा नेपालीसहित ११ वटा भाषाको पहिचान खुल्ने ब्याज लगाउनेछन्। उक्त सूचीमा नेपाली, पञ्जाबी, ग्रीक र स्पेनिसलगायतका भाषा समावेश छन्। साथै, श्रवणसम्बन्धी समस्या भएका तथा बोल्न नसक्ने व्यक्तिहरूलाई सहयोग पुर्याउन अष्ट्रेलियन साङ्केतिक भाषा (Auslan) पनि समावेश गरिएको छ।
नयाँ व्यवस्थाअनुसार यात्रुहरूले आफूलाई आवश्यक पर्ने भाषा बोल्ने कर्मचारीलाई सजिलै पहिचान गर्न सक्नेछन्। रेल तथा मेट्रो सेवाको जानकारी, गन्तव्य, यात्रा मार्ग र अन्य आवश्यक विषयमा कर्मचारीसँग आफ्नै भाषामा संवाद गर्न सकिनेछ।
विशेषगरी अष्ट्रेलियामा अंग्रेजी भाषामा सहज रूपमा संवाद गर्न नसक्ने नेपाली ज्येष्ठ नागरिक, नयाँ आप्रवासी, विद्यार्थी तथा परिवारका सदस्यहरूका लागि यो सुविधा उपयोगी हुने अपेक्षा गरिएको छ।
सिड्नीमा नेपाली समुदायको जनसंख्या र सार्वजनिक यातायात प्रयोग गर्ने नेपाली यात्रुको संख्या बढ्दै गएको अवस्थामा मेट्रोको यो पहललाई बहुसांस्कृतिक समुदायप्रतिको महत्वपूर्ण सम्बोधनका रूपमा हेरिएको छ।
अष्ट्रेलिया बहुसांस्कृतिक समाज भएको मुलुक हो। सार्वजनिक सेवामा भाषिक विविधतालाई सम्बोधन गर्दै यात्रुलाई सहज पहुँच प्रदान गर्ने मेट्रोको यो व्यवस्थाले नेपाली समुदायलाई पनि प्रत्यक्ष लाभ पुर्याउने विश्वास गरिएको छ।

प्रतिक्रिया