सिड्नी, अष्ट्रेलिया ।
अष्ट्रेलियाको सिडनीमा आयोजना गरिएको नेपाल फेष्टिभलमा पहिलो पटक प्रधानमन्त्री तहको सहभागिता सफल भएको छ । आज आयोजना गरिएको नेपाल फेष्टिभलको मुख्य उद्देश्य नेपालमा हालै गएको हिमाली सुनामीका कारण भएको क्षतिका क्रममा अष्ट्रेलियाले गरेको सहयोगकालाई धन्यवाद दिनुका साथै नेपालको पर्यटन प्रबद्र्धन, समूदायको एकता र भाईचारा अभिबृद्धि रहेको छ । एनआरएन न्यूसाउथवेल्सको आयोजनामा स्थानीय डार्लिङ हार्वरको टोम्बालुङ पार्कमा आयोजना गरिएको नेपाल फेष्टिभलमा नेपाली खानाका परिकार, नेपाली संस्कृति र परम्परा झल्कने नेपाल हाउसका साथै विभिन्न व्यवसायिक स्टलहरु समेत रहेका छन् । पहिलो पटक सहभागी भएका अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी एल्बानिजीले यहाँको अर्थतन्त्रमा नेपाली समूदायले दिएको योगदानको खुलेर प्रशंसा गरे । उनले हालै उच्च साहसी मेडल प्राप्त गर्न सफल नेपालीमूलका विकास बराइलीको प्रसंग उल्लेख गर्दै समूदायको सुरक्षामा उनले गरेको योगदानको प्रशंसा गरे । प्रधानमन्त्री एल्बानिजीले नेपाली अष्ट्रेलियनहरुको योगदानले अष्ट्रेलिया गौरवपूर्ण बनेको बताए । संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्री बालेन साहसँग भएको भेटवारे स्मरण गर्दै उनले प्राकृतिक प्रकोपको घडीमा अष्ट्रेलिया सदैव नेपालको साथमा उभिएको पनि बताउन छुटाएनन् ।
२० वर्षअघि बाट आयोजना गर्न सुरु गरिएको नेपाल फेष्टिभल हरेक दुई वर्षको अन्तरालमा हुने गर्दछ । सिड्नीबाट सुरु भएको नेपाल फेष्टिभल अहिले हरेक दुई वर्षमा अष्ट्रेलियाका आठवटै राज्य र टेरेटोरीहरुमा हुने गरेका छन् । पछिल्लो समय उच्च राजनीतिक तहबाट समेत नेपाल फेटिभलको प्रबद्र्धनका लागि अनुदानको साथै सहभागिताले पनि उत्साह थपेको एनआरएन न्यूसाउथवेल्स संयोजक उषाकिशरण बारियाले बताइन् । उनले पहिलो पटक प्रधानमन्त्री तहको सहभागिता सुनिश्ति गरेका कारणले मात्र होइन नेपालको पुननिर्माण र अष्ट्रेलियाको भूमिकालाई धन्यवाद दिन समेत यो मञ्च प्रभावकारी बनेको प्रतिक्रिया दिएकी छिन् । नेपाल फेष्टिभल सुरु हुनुअघि स्थानीय टाउन हलबाट पार्कसम्म प्रभातफेरिको आयोजना गरिएको थियो ।
कार्यक्रममा बोल्दै न्यूसाउथवेल्सका प्रिमियर क्रिस मिन्सले अष्ट्रेलियन नेपालीको योगदानको प्रशंसा गरे भने अष्ट्रेलियाका लागि नेपाली कार्यवाहक राजदूत तारा गौतमले नेपाल र अष्ट्रेलियाको सम्बन्धलाई आगामीमा दिनमा अझ गतिशील र प्रगाढ बनाउन आह्वान गरिन् । कार्यक्रममा एनआरएन अष्ट्रेलियाका अध्यक्ष सन्तोष कुँवरले उपस्थित अतिथिहरुकालाई धन्यवाद दिएका थिए भने यो ऐतिहासिक अवसर भएको बताएका थिए । यस्तै मुख्य प्रायोजक मार्की होम्सका एर्साद अहमदले समूदायसँग मिलेर अघि बढ्ने प्रतिबद्धता जनाएका थिए ।
कार्यक्रमको समापन गर्दै न्यूसाउथवेल्स सयोजक उषाकिरण बारिया पोखरेलले सबैको साथ सहयोग र सामूहिक भावनाबाट नेपाल फेष्टिभल यो उचाईमा आउन सपल भएको बताइन् भने यसमा संलग्न स्वयंसेवकदेखि सफलताको लागि खटिने सबैमा आभार व्यक्त गरिन् । उनले आफ्नो भनाईको अन्त्यमा यो मन त मेरो नेपाली हो भन्ने उद्घोष गर्दा दर्शकदीर्घाबाट तालीको प्रशंसा पाइन् भने प्रधानमन्त्री एन्थोनी एल्बानिजीले समेत आफैं स्टेजमा आएर यही नारालाई दोहोराएका थिए । पहिलो पटक नेपाल फेष्टिभलमा सहभागी भएका अष्ट्रेलियाका प्रधानमन्त्रीले नेपालीहरुसँगको आफ्नो आत्मीयता दर्शाउँदा उपस्थित धेरैजना उत्साही देखिएका थिए ।

प्रतिक्रिया