काठमाडौं । प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको दोश्रो अधिवेशन काठमाडौंमा सुरु भएको छ । नेकपा एमालेको शुभेच्छुक संगठन प्रवासी नेपाली मञ्चका विश्वका विभिन्न देशमा भएका संगठनहरुलाई एकताबद्ध गर्न गठन गरिएको अन्तर्राष्ट्रिय कमिटीको अधिवेशनले यस पटक श्रमिकको अधिकार र वंशजको नागरिकताको सुनिश्चितता प्रमुख नारा बनाएको छ । उद्घाटन सत्रमा बोल्दै एमाले वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विश्वका जुनसुकै कुनामा रहेपनि नेपालीको नेपालसँग साईनो नछुट्ने बताइन् । उनले आफुले विदेशमा आर्जन गरेको शीप र पूँजीलाई देशमा लगानी गर्न आह्वान पनि गरिन् । कार्यक्रममा एमालेका महासचिव शंकर पोखरेल पनि उपस्थित थिए ।

उनले प्रदेश तहको कमिटीको हैसियत राख्ने प्रवासी नेपाली मञ्चको अधिवेशनले सक्षम नेतृत्वलाई अघि ल्याउने अपेक्षा व्यक्त गरे । पार्टी सञ्चालन वा राज्य सञ्चालनका विगतको अनुभवको जगमा भविष्यको कार्यभार सम्हाल्नुपर्ने भन्दै महासचिव पोखरेलले विगतको विश्लेषण सही नभए भविष्य बनाउन नसकिने बताएका थिए । गत वर्ष भाद्र २३ र २४ पछि विकसित अहिलेको चुनौती सामना गर्न नेकपा एमालेले भूराजनीतिक षड्यन्त्रको विषयलाई जनतामा बुझाउने प्रयास गरेपनि चुनावको नतिजाले जनतालाई बुझाउन नसकिएको यथार्थ हो भन्दै महासचिव पोखरेलले ९ सिट मात्र प्रत्यक्ष चुनाव जित्ने कुरा अकल्पनीय रहेको पनि बताए ।
दुई दिनसम्म काठमाडौंको कार्की व्याङ्क्वेटमा चल्ने महाधिवेशनले संस्थाको आगामी नेतृत्व समेत चयन गर्नेछ । पहिलो अधिवेशनबाट महासचिव पदमा चयन भएका अष्ट्रेलियाका रमेश पाण्डेले अबको कार्यकाल अध्यक्षमा दावी गरेका छन् । यसअघिका अध्यक्ष प्रभु थापा एमालेको केन्द्रीय सदस्यमा निर्वाचित भएपछि पाण्डे कार्यवाहक अध्यक्ष बनेका थिए । प्रवासी नेपाली मञ्च अष्ट्रेलियाका पूर्वअध्यक्ष पाण्डे नेपालमा कोरोना महामारीको बेला विश्वभर रहेका प्रवासीहरुको तर्फबाट नेपालमा अक्सिजन प्लान्ट निर्माणका लागि समन्वयकर्ताको रुपमा चर्चित छन् ।


उनी अष्ट्रेलियामा पनि सामाजिक अभियन्ताको रुपमा क्रियाशील छन् । केविसीखबरसँग कुरा गर्दै पाण्डेले लामो समयको अनुभव, भविष्यको योजनालाई बुझेर अधिवेशनका प्रतिनिधिहरुले विश्वास गरेमा नेतृत्व लिन आफु तत्पर रहेको प्रतिक्रिया दिए । पाण्डेले देश विषम परिस्थितिमा रहेको बेला प्रवासीहरुको भूमिका अझै सम्वेदनशील बनेको पनि बताएका छन् ।

प्रतिक्रिया