होबार्ट, अस्ट्रेलिया। तास्मानियामा नेपाली कला, संस्कृति र मौलिक पहिचानको उत्सवका रूपमा आयोजना हुन लागेको नेपाल फेस्टिभल २०२६ को तयारी अन्तिम चरणमा पुगेको छ। आगामी शनिबार, १४ नोभेम्बरमा होबार्टस्थित ऐतिहासिक संसद् भवनको प्राङ्गणमा पुनः नेपाल फेस्टिभल आयोजना हुन लागेको हो।
गैरआवासीय नेपाली संघ (एनआरएनए) तास्मानिया राज्य समन्वय परिषद्को आयोजनामा हुन लागेको महोत्सवमा तास्मानियाका गभर्नर प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम रहेको छ। त्यसैगरी स्थानीय तथा राज्यस्तरीय राजनीतिक व्यक्तित्वहरू, विभिन्न संघसंस्थाका प्रतिनिधि, नेपाली समुदायका अगुवा तथा अन्य विशिष्ट अतिथिहरूको समेत उपस्थिति रहने जनाइएको छ।
यस वर्षको महोत्सवमा चर्चित गायक प्रकाश सपुत, गायिका रचना रिमाल, गायक अनिल सिंह तथा लोकप्रिय हास्य कलाकार बलराम लम्साल ‘बले’ लगायतका कलाकारहरूको विशेष प्रस्तुति रहनेछ। नेपाली संगीत र हास्यव्यंग्य क्षेत्रका चर्चित कलाकारहरूको सहभागिताले महोत्सवलाई थप आकर्षक र मनोरञ्जनात्मक बनाउने अपेक्षा गरिएको छ। यसका साथै स्थानीय कलाकारहरूका विविध सांस्कृतिक प्रस्तुतिले नेपाली कला, संस्कृति र मौलिकताको झल्को दिनेछन्।

एनआरएनए तास्मानियाका सचिव राजीव ओझाका अनुसार महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ। प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरूको सहभागितादेखि कार्यक्रम व्यवस्थापनका अधिकांश विषयलाई अन्तिम रूप दिइसकिएको उनले जानकारी दिए। महोत्सवलाई व्यवस्थित र भव्य बनाउन आयोजक टोलीले विभिन्न जिम्मेवारी बाँडफाँट गरी तयारीलाई तीव्रता दिएको छ।
त्यसैगरी, एनआरएनए तास्मानियाका संयोजक सुजन वाग्लेले नेपाल फेस्टिभललाई नेपाली समुदायको साझा उत्सवका रूपमा सफल बनाउन सबैको साथ, सहयोग र सक्रिय सहभागिता महत्त्वपूर्ण रहने बताए। उनले महोत्सवलाई नेपाली समुदायमा मात्र सीमित नराखी तास्मानियाको बहुसांस्कृतिक समाजसँग नेपाली कला, संस्कृति र पहिचान जोड्ने अवसरका रूपमा लिइएको उल्लेख गर्दै सम्पूर्ण तास्मानियावासीलाई कार्यक्रममा सहभागी हुन आग्रह गरेका छन्।
यसैबीच, एनआरएनए तास्मानियाका युवा संयोजक विष्णु थपलियाले केबीसी खबरसँग कुरा गर्दै लन्चेस्टनबाट होबार्टमा आयोजना हुने नेपाल फेस्टिभलमा सहभागी हुन चाहनेहरूका लागि निःशुल्क बस सेवाको व्यवस्था गरिएको र उक्त बसका सबै सिट बुकिङ भइसकेको जानकारी दिए। महोत्सवप्रति लन्चेस्टनबाट समेत उत्साहजनक चासो देखिएको उनले बताए।
महोत्सवअन्तर्गत दिउँसो १२ बजे म्याक्वेरी पोइन्टबाट नेपाली मौलिक भेषभूषा, बाजागाजा र विभिन्न सांस्कृतिक झाँकीसहित परेड सुरु हुने कार्यक्रम रहेको छ। त्यसपछि दिउँसो १ बजेदेखि संसद् भवनको प्राङ्गणमा मुख्य सांस्कृतिक कार्यक्रम सञ्चालन हुनेछ।
कार्यक्रममा नेपाली लोक तथा आधुनिक संगीत, विभिन्न जातजातिका परम्परागत नृत्य, नेपाली खानाका परिकार, कला तथा हस्तकलाका प्रदर्शनीलगायतका गतिविधिहरू समावेश गरिनेछन्। महोत्सवले नेपालका विभिन्न भाषा, जातजाति र सांस्कृतिक परम्परालाई एउटै मञ्चमा प्रस्तुत गर्दै नेपाली समुदायको विविधताभित्रको एकतालाई उजागर गर्ने अपेक्षा गरिएको छ।
यसअघि पनि संसद् भवनको प्राङ्गणमा आयोजित नेपाल फेस्टिभलले नेपाली समुदाय र स्थानीय अस्ट्रेलियाली समाजबीच सांस्कृतिक सम्बन्ध विस्तार गर्न महत्त्वपूर्ण भूमिका खेलेको थियो। यस वर्ष पुनः सोही ऐतिहासिक स्थानमा आयोजना हुन लागेको महोत्सवले नेपाली समुदायको सांस्कृतिक पहिचानलाई थप उजागर गर्ने अपेक्षा गरिएको छ।
विशेषगरी विदेशमा हुर्कँदै गरेका नेपाली मूलका बालबालिका तथा युवा पुस्तालाई आफ्नो भाषा, कला, संस्कृति र परम्परासँग परिचित गराउन यस्ता महोत्सवहरू महत्त्वपूर्ण हुने गरेका छन्। साथै, स्थानीय अस्ट्रेलियाली समुदायलाई नेपालको सांस्कृतिक विविधता नजिकबाट अनुभव गर्ने अवसरसमेत प्राप्त हुनेछ।
आयोजकले तास्मानियामा बसोबास गर्ने सम्पूर्ण नेपाली तथा अन्य समुदायका नागरिकलाई महोत्सवमा सहभागी भई नेपाली कला, संस्कृति र मौलिकताको उत्सवलाई सफल बनाउन आग्रह गरेको छ।



प्रतिक्रिया