एडिलेडमा आज नोभेम्बर ६ मा चितवन समाजको दशैँ, तिहार तथा छठ विशेष कार्यक्रम

एडिलेडमा आज नोभेम्बर ६ मा चितवन समाजको दशैँ, तिहार तथा छठ विशेष कार्यक्रम


एडिलेड, ६ नोभेम्बर। दक्षिण अस्ट्रेलियामा सक्रिय नेपाली सामुदायिक संस्था चितवन समाज साउथ अस्ट्रेलियाको आयोजनामा आज शुक्रबार बडादशैँ, तिहार तथा छठ पर्वको अवसरमा विशेष शुभकामना आदानप्रदान कार्यक्रम आयोजना हुँदैछ।

कार्यक्रम आज अपराह्न ४ बजेदेखि एडिलेडको ओकल्यान्ड्स पार्कस्थित ओकल्यान्ड्स वेटल्यान्ड रिजर्भमा सञ्चालन हुने आयोजकले जनाएको छ। कार्यक्रममा दक्षिण अस्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदायका सदस्यहरूलाई सहभागी भई आपसी शुभकामना आदानप्रदान गर्न आयोजकले आग्रह गरेको छ।

समाजका अध्यक्ष कौशल उप्रेतीका अनुसार प्रवासी जीवनको व्यस्तताबीच पनि नेपाली चाडपर्वको मौलिकता जोगाउँदै समुदायलाई एकै ठाउँमा जोड्ने प्रयासस्वरूप कार्यक्रम आयोजना गरिएको हो। यस्ता सामूहिक उत्सवले आपसी भेटघाट र सद्भाव बढाउनुका साथै विदेशमा हुर्कँदै गरेका बालबालिकालाई आफ्नो भाषा, संस्कृति र परम्परासँग परिचित गराउन तथा नेपाली समुदायबीचको पारिवारिक आत्मीयतालाई थप प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास उहाँले व्यक्त गर्नुभयो।

कार्यक्रमको मुख्य प्रायोजन एनेक्स रियल इस्टेट र फेवा होम लोन्सले गरेका छन् भने गोल्ड स्पोन्सरका रूपमा एटुजेड होम लोन एडिलेड र एक्सपर्ट एजुकेसन एन्ड भिसा रहेका छन्। त्यसैगरी, विभिन्न नेपाली सामुदायिक संस्था, व्यावसायिक प्रतिष्ठान तथा सहयोगी संस्थाहरूले कार्यक्रमलाई साथ दिएका छन्।

दक्षिण अस्ट्रेलियामा सामाजिक तथा सामुदायिक गतिविधिमा सक्रिय चितवन समाजले सांस्कृतिक कार्यक्रम, सामाजिक सचेतना, खेलकुद प्रवर्द्धन तथा मानवीय सेवाका क्षेत्रमा योगदान पुर्‍याउँदै आएको छ। नेपालमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालनदेखि प्राकृतिक विपत्तिबाट प्रभावित समुदायलाई सहयोग गर्ने कार्यमा समेत समाजले सक्रियता देखाउँदै आएको छ। जन्मभूमिप्रतिको उत्तरदायित्व र कर्मभूमिमा सामुदायिक सहकार्यलाई सँगसँगै अघि बढाउँदै समाजले प्रवासी नेपाली समुदायमा आफ्नो छुट्टै पहिचान स्थापित गर्दै आएको छ।