प्रमोद खरेलको ‘कन्सर्ट’मा सुरक्षाकर्मी र दर्शकबीच झडप, दर्जनौँ घाइते

प्रमोद खरेलको ‘कन्सर्ट’मा सुरक्षाकर्मी र दर्शकबीच झडप, दर्जनौँ घाइते


काठमाडौँ । धनकुटामा जारी पाँचौँ धनकुटा महोत्सवमा सुरक्षाकर्मी र दर्शकबीच झडप हुँदा दुई दर्जनभन्दा बढी घाइते भएका छन् । चर्चित गायक प्रमोद खरेलको प्रस्तुति हेर्न र स्कुटीको हाउजी विङ्गो खेल्न हजारौँ दर्शक धनकुटा नपा–५ मा रहेको तल्लोटुँडिखेलमा रहेको महोत्सव आयोजनास्थल पुगेका थिए ।

साँझ करिब आठ बजे महोत्सवस्थलमा दर्शक नअट्ने स्थिति बनेको थियो । हाउजीको टिकट सकिएपछि आयोजकले सुरक्षाकर्मीलाई गेटबन्द गर्न लगाउँदा बाहिर रहेका दर्शक र सुरक्षाकर्मीबीच प्रवेशद्वारमा झडप भएको हो ।

दर्शकले मुलगेट नै भत्काइदिएका छन् । मुलगेट भत्काएर महोत्सवस्थलमा बाहिरको भिड प्रवेश गरेपछि सुरक्षाकर्मीले लाठीचार्ज गरेको थियो ।

भागाभाग हुँदा सयौँ दर्शक घाइते भएको अनुमान गरिएको छ । घाइते हुनेहरुमा धनकुटाको महालक्ष्मी घर भै हाल धनकुटा नपा–५ स्थित धनकुटा बोर्डिङमा युकेजीमा अध्ययनरत प्रकट श्रेष्ठ, आमा कुसुम श्रेष्ठ, मारेककटहरे घर भै धनकुटा बोर्डिङमा कक्षा–६ मा अध्ययनरत श्रेया कटुवाल गम्भीर घाइते भएका छन् ।

ठेगाना नखुलेका ११ वरवर्षीय सुनील लिम्बू पनि गम्भीर घाइते भएका छन् भनेर यो समाचार नयाँ पत्रिकाले लेखेको छ। अन्य घाईतेहरुमा धनकुटा नपा–१ हिलेका विशाल तामाङ, उदीप राई, आइत राई, नन्दकुमार तामाङलगायत घाइते छन् ।

धनकुटा नपा–७ का अन्सु सुवेदी, धनकुटा नपा–७ सितलपाटीका विनिता लिम्बू, धनकुटा नपा–५ का शान्ता योगी, धनकुटा नपा–१० घर भएका प्रेम दाहाल पनि घाइते भएका छन् ।

घाइतेमध्ये २४ जनाको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ भने केहीको जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी लक्ष्मीराज अधिकारीले बताए ।