मंसिरदेखि नयाँ सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य

मंसिरदेखि नयाँ सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य


काठमाडौं, २४ कात्तिक । सरकारले आगामी मंसिरदेखि सवारीमा जोडिने नम्बर प्लेटलाई ‘इम्बोस्ड’ प्रविधिमा रुपान्तरणको व्यवस्थालाई अनिवार्य गरेको छ । चरणवद्ध रुपमा तोकिएका प्रदेशमा तोकिएका वर्गमा सवारीले तोकिएको मितिदेखि इम्बोस्ड नम्बर प्लोट जडान गर्नुपर्ने भएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले राजपत्रमा सूचना नै प्रकाशित गरेर इम्बोस्ड प्लेट अनिवार्य गर्ने व्यवस्था लागू गर्न लागिएको जानकारी दिएको हो । सरकारले नामाकरण भइसकेका प्रदेशहरुमा मात्र इम्बोस्ड जडान गर्न लागेको हो ।
राजपत्रअनुसार १ मंसिर २०७८ बाट बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा नयाँ दर्ता हुने सवारीमा अनिवार्य इम्बोस्ड प्लेट जडान हुनेछ । प्रदेश १ र २ को नाम भने टुंगिन बाँकी भएकाले त्यहाँ अहिले नै इम्बोस्ड प्लेट अनिवार्य नहुने भएको छ । नामाकरण भइसकेका प्रदेशहरुमा १ फागुन २०७८ देखि सवारी नामसारी गर्दा पनि इम्बोस्ड नम्बर प्लेट जडान गर्नैपर्नेछ । त्यस्तै १ जेठ २०७९ देखि सवारी दर्ता प्रमाणपत्र (ब्लुबुक) नवीकरण गर्दा पनि जोड्नुपर्नेछ । कसैले तोकिएको समयअघि नै जोड्न चाहे त्यसतो सुविधा पनि पाइने राजपत्रमा उल्लेख छ ।