कर्जा प्रवाह बढेकाले तरलता अभाव भयो : गभर्नर अधिकारी

कर्जा प्रवाह बढेकाले तरलता अभाव भयो : गभर्नर अधिकारी


काठमाडौं, २३ कात्तिक (रासस) । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बढी कर्जा प्रवाह हुँदा तरलता अभाव भएको बताउनुभएको छ । नेपाल बैंकर्स संघको ३५औँ साधारणसभामा गभर्नर अधिकारीले आर्थिक वर्षको सुरुमै सोचेअनुरुप रेमिट्यान्स नआउनु, आयात बढेर बाह्य क्षेत्रमा दबाब परेको र सरकारी खर्च बेलैमा नहुँदा तरलतामा चाप परेको बताउनुभयो ।
उहाँले अर्थतन्त्रको पुनःरूत्थान चाँडो हुन ऋण विस्तार सहयोगी भएकाले पनि अभाव भएको उल्लेख गर्दै संयमित भएर ऋण विस्तार र ब्याज समायोजन गर्न आग्रह गर्नुभयो । उहाँले नाफा मात्र खोज्ने प्रवृत्ति हुँदा ऋण विस्तार भएको भन्दै बैंकरमा अनुशासन कायम हुन जरुरी भएको बताउनुभयो । उहाँले कोभिडको असहज अवस्थामा पनि बैंकले अर्थतन्त्र र वित्तीय क्षेत्र जोगाउन महत्वपूर्ण योगदान गरेको उल्लेख गनर््ुभयो ।
कार्यक्रममा अर्थविद् डा शङ्कर शर्माले बैंकिङ क्षेत्र संवेदनशील क्षेत्र भएकाले यसको व्यवस्थापन र सञ्चालनमा विशेष ध्यान दिन आग्रह गर्नुभयो । उहाँले वाणिज्य बैंकको सेवालाई प्रतिस्पर्धी र प्रविधिमैत्री बनाएर उपभोक्ताको सेवालाई सहज बनाउन अनुरोध गर्नुभयो । संघका निवर्तमान अध्यक्ष भुवन दाहाल र वर्तमान अध्यक्ष अनिल उपाध्यायले बैंकमा २० प्रतिशतभन्दा बढी सम्पत्ति रिजर्भ रहेकाले अहिले नै तरलता अभावमा अत्तिनुपर्ने अवस्था नभएको बताउनुभयो ।