सत्तारुढ गठबन्धनबाट उच्चस्तरीय राजनीतिक संयन्त्र गठन, चुनावमा मिलेर लड्ने सहमति

सत्तारुढ गठबन्धनबाट उच्चस्तरीय राजनीतिक संयन्त्र गठन, चुनावमा मिलेर लड्ने सहमति


काठमाडौं, २२ कात्तिक । सत्तारुढ पाँच राजनीतिक दलले उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गरेका छन् । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले राजनीतिक संयन्त्र गठन गर्ने निर्णय गरेको हो । सत्ता गठबन्धनको समन्वय समितिमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौला, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नारायणकाजी श्रेष्ठ, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसहित अन्य र यसैगरी जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलसहित अन्य सदस्यहरु पछि मनोनयन हुनेगरी ११ सदस्यीय समिति गठन गरिएको सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।
सो समितिमा सबै राजनीतिक दलले दुई÷दुई महिनामा संयोजन गर्ने सहमति भएको नेकपा माओवादी केन्द्रमा नेता नारायणकाजी श्रेष्ठले बताउनुभएको छ । सुरुको दुई महिनाको संयोजन कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले गर्नुहुने छ । ’यसको मुख्य जिम्मेवारी राष्ट्रियता, संविधान र लोकतन्त्रको रक्षा र संस्थागत सुदृढीकरण, सुरक्षा, सुशासन, सेवा र विकास निर्वाचन सफलतापूर्वक सम्पन्न गर्ने कार्यभारलाई केन्द्रबिन्दुमा राखेर काम गर्ने छ,’ श्रेष्ठले भन्नुभयो । यसैगरी आसन्न उपनिर्वाचन र राष्ट्रियसभा निर्वाचन मिलेर लड्ने सहमति भएको श्रेष्ठले जानकारी दिनुभयो ।