टी–२० विश्वकपबाट भारत बाहिरियो, न्यूजिल्याण्ड सेमिफाइनलमा

टी–२० विश्वकपबाट भारत बाहिरियो, न्यूजिल्याण्ड सेमिफाइनलमा


काठमाडौं, २१ कात्तिक । अफगानिस्तानमाथि ८ विकेटको सहज जित हात पार्दै न्यूजिल्याण्ड टी–२० विश्वकपको सेमिफाइनलमा पुगेको छ । भारत भने एक खेल बाँकी छँदै प्रतियोगिताबाट बाहिरिएको छ । अबुधाबीमा अफगानिस्तानले दिएको १२५ रनको लक्ष्य न्यूजिल्याण्डले १८ दशमलव १ ओभरमा २ विकेट गुमाएर भेट्टायो । न्युजिल्याण्डका लागि केन विलिम्सनले ४०, देभन कनवेले ३६, मार्टिन गप्टिलले २८ र डार्यल मिचेलले १७ रन जोडे ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा ८ विकेट गुमाएर १२४ रन बनाएको थियो । उसको सुरुवात खराब रह्यो । ओपनर मोहम्मद शाहजाद २ र हजरातुल्लाह जजई मात्र ४ रनमा आउट भए । तेस्रो विकेटका रुपमा रहमानुल्लाह गुरबाजी ६ रनमा आउट हुँदा अफगानिस्तानको स्कोर मात्र १९ रन थियो ।
पाँचौं नम्बरमा ब्याटिङ गर्न आएका नजीबुल्लाह जदरानले आक्रामक पारी खेले । चौथो विकेटका लागि गुलाबुद्धिन नाबीसँग ३७ रनको साझेदारी गरेका उनले पाँचौं विकेटका लागि मोहम्मद नाबीसँग ५९ रनको साझेदारी गरे । गुलाबुद्धिन नाबी १५ र मोहम्मद नाबी १४ रनमा आउट भए । छैटौं विकेटका रुपमा आउट भएका जदरानले ७३ रन बनाए । ४८ बलको सामना गरेका उनले ६ चौका र ३ छक्का हानेका थिए ।
न्युजिल्याण्डका ट्रेन्ट बोल्टले ४ ओभरमा १७ रन खर्चेर ३ तथा टिम साउथीले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए । एडम मिल्न, जेम्स निशाम र इश सोधीले समान एक विकेट लिए ।