मेलबर्न, अस्ट्रेलिया। बहुसांस्कृतिक समुदायबीच आपसी सद्भाव, एकता र मित्रता प्रवर्द्धन गर्ने उद्देश्यले मेलबर्नमा आगामी नोभेम्बर २१ र २२ तारिखमा ‘एभरेस्ट सकर मिट २०२६’ आयोजना हुने भएको छ।
एभरेस्ट युनाइटेड क्लबको आयोजनामा हुने प्रतियोगिता मेलबर्नको हपर्स क्रसिङस्थित २६०–२८० होगन्स रोडमा सञ्चालन हुनेछ।
प्रतियोगितामा नेपाली समुदायसँगै विभिन्न देश, संस्कृति र पृष्ठभूमिका खेलाडीहरूको सहभागितालाई प्रोत्साहन गरिएको छ। फुटबलमार्फत विभिन्न समुदायबीच सम्बन्ध विस्तार गर्ने, सामाजिक सद्भाव बढाउने तथा युवा खेलाडीहरूको प्रतिभा प्रस्फुटन गर्ने प्रतियोगिताको मुख्य उद्देश्य रहेको छ।
एभरेस्ट युनाइटेड क्लबका संयोजक मोहन हमालका अनुसार प्रतियोगितालाई खेलकुद प्रतिस्पर्धामा मात्र सीमित नराखी बहुसांस्कृतिक समुदायबीच मित्रता, एकता र आपसी सम्मान अभिवृद्धि गर्ने साझा मञ्चका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ।

प्रतियोगिता तीन विधामा सञ्चालन हुनेछ। खुला उमेर समूहअन्तर्गत ‘सिएरा ओपन कप’ मा ११ खेलाडी सम्मिलित ६ टोलीले प्रतिस्पर्धा गर्नेछन्। त्यस्तै, ३५ वर्षमाथिका खेलाडीका लागि ‘अलायन्स वाइज कप’ मा पनि ६ टोली सहभागी हुनेछन्।
युवा खेलाडीलाई प्रोत्साहन गर्न १० देखि १४ वर्ष उमेर समूहका लागि ‘ग्रेस यङ गन्स कप’ आयोजना गरिनेछ। नोभेम्बर २२ तारिख आइतबार हुने यस विधामा ९–९ खेलाडी सम्मिलित चार टोली सहभागी हुनेछन्। युवा खेलाडीहरूको सहभागिता बढाउने उद्देश्यले यस विधामा प्रवेश निःशुल्क गरिएको आयोजकले जनाएको छ।
प्रतियोगिताले उदीयमान खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने, खेल अनुभव हासिल गर्ने र आत्मविश्वास विकास गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।
आयोजकका अनुसार एभरेस्ट सकर मिटलाई आगामी दिनमा खेलकुदसँगै सांस्कृतिक विविधता, सामुदायिक एकता र नयाँ खेल प्रतिभाको विकासलाई प्रोत्साहन गर्ने कार्यक्रमका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ।




प्रतिक्रिया