मेलबर्न, अस्ट्रेलिया। ग्रेस इन्टरनेसनलको २०औँ वार्षिकोत्सवका अवसरमा थाइल्यान्डको पटायामा आयोजित ‘ग्रेस ओडिसी २०२६’ सम्पन्न भएको छ। नोभेम्बर ११ देखि १५ सम्म आयोजित कार्यक्रममा ११ देशका करिब ९० जना प्रतिनिधि सहभागी भई संस्थाको दुई दशकको उपलब्धि समीक्षा गर्नुका साथै विश्वव्यापी विस्तार, नेतृत्व विकास र विद्यार्थीकेन्द्रित सेवाको भावी रणनीतिबारे छलफल गरेका छन्।
पटायास्थित पुलम्यान होटलमा सम्पन्न पाँचदिने कार्यक्रममा संस्थाका निर्देशक, वरिष्ठ व्यवस्थापक तथा नेतृत्व तहका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। ‘द ओरिजिन, द जर्नी, द होराइजन’ अर्थात् ‘उत्पत्ति, यात्रा र भविष्यको क्षितिज’ भन्ने नारासहित आयोजित कार्यक्रममा संस्थाको विकासयात्रा, चुनौती र आगामी योजनालाई प्राथमिकता दिइएको थियो।
सन् २००६ मा रामचन्द्र पौडेलले स्थापना गरेको ग्रेस इन्टरनेसनलमा तीन वर्षपछि एन्ड्र्यु पौडेल आबद्ध भएका थिए। त्यसयता संस्थाले अन्तर्राष्ट्रिय शिक्षा, विद्यार्थी परामर्श तथा शैक्षिक परामर्श सेवाका क्षेत्रमा आफ्नो सञ्जाल विस्तार गर्दै आएको छ।

कार्यक्रममा अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रमा देखिएका चुनौती र अवसर, नेतृत्व विकास, प्रविधि तथा नवप्रवर्तनको प्रयोग, संस्थागत सुदृढीकरण र विद्यार्थीकेन्द्रित सेवाको विस्तारबारे रणनीतिक छलफल तथा कार्यशालाहरू सञ्चालन गरिएका थिए। सहभागीहरूले परम्परागत शैक्षिक परामर्शभन्दा अगाडि बढ्दै विद्यार्थीको शैक्षिक यात्रासँगै व्यक्तिगत विकास र भविष्यका अवसर सिर्जना गर्ने दिशामा अघि बढ्नुपर्नेमा जोड दिएका थिए।
केबीसी खबरसँग कुरा गर्दै ग्रेस इन्टरनेसनलका संस्थापक तथा अध्यक्ष रामचन्द्र पौडेलले संस्थाको दुई दशक लामो यात्रा सामूहिक मेहनत, विश्वास र निरन्तर प्रतिबद्धताको परिणाम भएको बताए। विद्यार्थीलाई गुणस्तरीय शैक्षिक परामर्श र विश्वव्यापी अवसर प्रदान गर्ने उद्देश्यलाई आगामी दिनमा थप सशक्त बनाउँदै लैजाने संस्थाको लक्ष्य रहेको उनको भनाइ थियो।
वार्षिकोत्सवका अवसरमा उत्कृष्ट कार्यसम्पादन, नेतृत्व, संस्थागत योगदान तथा विभिन्न क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गर्ने कर्मचारी, निर्देशक र शाखाहरूलाई करिब ४८ विधामा पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो। विशेषगरी संस्थामा १०, १५ र २० वर्षसम्म निरन्तर योगदान पुर्याउने कर्मचारी तथा नेतृत्वकर्तालाई विशेष सम्मान गरिएको थियो।

कार्यक्रममा विभिन्न अन्तर्राष्ट्रिय विश्वविद्यालयका प्रतिनिधिहरू अतिथिका रूपमा सहभागी भएका थिए। उनीहरूको सहभागिताले विश्वव्यापी शिक्षा क्षेत्रमा भइरहेका परिवर्तन, विश्वविद्यालयसँगको संस्थागत साझेदारी तथा विद्यार्थीका लागि थप गुणस्तरीय शैक्षिक अवसर सिर्जना गर्ने विषयमा विचार आदानप्रदान गर्ने अवसर प्रदान गरेको थियो।
पाँचदिने आवासीय कार्यक्रमले विभिन्न देशमा कार्यरत प्रतिनिधिहरूबीच अनुभव आदानप्रदान, सम्बन्ध विस्तार र आपसी सहकार्यलाई थप मजबुत बनाएको थियो। संस्थापक तथा अध्यक्ष रामचन्द्र पौडेल र सहसंस्थापक तथा प्रबन्ध निर्देशक एन्ड्र्यु पौडेलले कार्यक्रमभर सहभागीहरूसँग संस्थाको भावी योजना र विश्वव्यापी विस्तारबारे छलफल गरेका थिए।
दुई दशक लामो संस्थागत यात्रालाई प्रतीकात्मक रूपमा प्रस्तुत गर्न कार्यक्रमको नाम ‘ग्रेस ओडिसी’ राखिएको थियो। ‘द ओरिजिन, द जर्नी, द होराइजन’ अवधारणाले संस्थाको स्थापना, विकासयात्रा र भविष्यका सम्भावनालाई समेटेको थियो।
सन् २००६ मा सुरु भएको ग्रेस इन्टरनेसनलको यात्रा आज ११ देशमा फैलिएको अन्तर्राष्ट्रिय सञ्जालमा परिणत भएको छ। वार्षिकोत्सवले विगतका उपलब्धिको सम्मान गर्दै आगामी दशकमा नवप्रवर्तन, विश्वव्यापी सहकार्य, संस्थागत विकास र विद्यार्थीको भविष्य निर्माणलाई प्राथमिकतामा राखेर अघि बढ्ने साझा प्रतिबद्धता व्यक्त गरेको छ।




ग्रेस इन्टरनेसनलले शैक्षिक परामर्श सेवासँगै विभिन्न समुदायमा आयोजना हुने सामाजिक तथा सांस्कृतिक कार्यक्रमहरूमा समेत सहयोग र सहभागिता जनाउँदै आएको छ। संस्थाका संस्थापक तथा अध्यक्ष रामचन्द्र पौडेलले केबीसी खबरलाई जानकारी दिँदै आगामी दिनमा सामुदायिक गतिविधिमा सहयोगलाई निरन्तरता दिनुका साथै निकट भविष्यमै थप ५ देखि ७ देशमा शाखा विस्तार गर्ने योजना रहेको बताए।









प्रतिक्रिया