सिड्नी ।
अष्ट्रेलियाको न्यु साउथ वेल्स राज्यमा घरेलु तथा पारिवारिक हिंसाविरुद्ध प्रहरीले सञ्चालन गरेको तीनदिने विशेष अभियानमा ६८१ जना पक्राउ परेका छन्। पक्राउ परेका व्यक्तिविरुद्ध प्रहरीले विभिन्न कसुरमा १ हजार ५९४ वटा आरोप लगाएको छ।
न्यु साउथ वेल्स प्रहरीले नोभेम्बर १२ देखि १४ सम्म सञ्चालन गरेको विशेष अभियानको नतिजा सोमबार सार्वजनिक गरेको हो। उच्च जोखिममा रहेका घरेलु हिंसाका आरोपितलाई लक्षित गर्दै सञ्चालन गरिएको अभियानमा राज्यभरका विभिन्न प्रहरी इकाइ परिचालन गरिएको थियो।
प्रहरीका अनुसार अभियानका क्रममा २३९ वटा पक्राउ पुर्जी कार्यान्वयन गरिएका थिए। त्यस्तै, अदालतबाट जारी गरिएका घरेलु हिंसासम्बन्धी सुरक्षा आदेश पालना भए–नभएको जाँच गर्न ११ हजार ३७५ पटक निरीक्षण गरिएको थियो। तीमध्ये २८३ वटा आदेश उल्लङ्घनका घटना फेला परेका छन्।
यसैगरी, धरौटी तथा जमानतका सर्त पालना भए–नभएको जाँच गर्न १ हजार २१८ पटक निरीक्षण गरिएको थियो।
अभियानका क्रममा प्रहरीले हतियार नियन्त्रणसम्बन्धी आदेशअन्तर्गत १०९ पटक खानतलासी गरेको थियो। त्यस क्रममा ७३ वटा बन्दुक र अन्य २१ वटा हतियार बरामद गरिएको छ।
उत्तरी क्षेत्रमा सबैभन्दा बढी हतियार बरामद
प्रहरीले सार्वजनिक गरेको क्षेत्रगत विवरणअनुसार उत्तरी क्षेत्रमा ७९ वटा पक्राउ पुर्जी कार्यान्वयन गरिएका छन् भने ११७ जनाविरुद्ध २८३ वटा आरोप लगाइएको छ। उक्त क्षेत्रमा ८३८ पटक सुरक्षा आदेशको पालना जाँच गर्दा ८५ वटा उल्लङ्घन फेला परेका छन्। साथै, २७ वटा बन्दुक बरामद गरिएको छ।
दक्षिणी क्षेत्रमा ८६ जनाविरुद्ध २११ वटा आरोप लगाइएको छ। पश्चिमी क्षेत्रमा १३२ जनाविरुद्ध ३०२ वटा आरोप लगाइएको प्रहरीले जनाएको छ।
महिलामाथि कुटपिट र घाँटी थिचेको आरोपमा पक्राउ
अभियानका क्रममा सार्वजनिक गरिएका घटनामध्ये उत्तरी तटीय क्षेत्र कोराकीको घटना गम्भीर प्रकृतिको रहेको छ।
प्रहरीका अनुसार नोभेम्बर ५ मा स्प्रिङ स्ट्रिटस्थित एक घरमा ३९ वर्षीय पुरुषले आफूले चिनेकी २६ वर्षीया महिलामाथि कुटपिट गरेको, घाँटी थिचेको र घरबाट बाहिर जान नदिएको आरोप लागेको थियो।
ती पुरुषसँग पेस्तोलसमेत रहेको र महिलाको मोबाइल फोनमा क्षति पुर्याइएको प्रहरीलाई जानकारी दिइएको थियो। घाइते महिलालाई उपचारका लागि लिस्मोर अस्पताल लगिएको थियो।
अनुसन्धानपछि नोभेम्बर १३ मा प्रहरीले गुनालाबास्थित एक घरबाट ती पुरुषलाई पक्राउ गरेको थियो। उनीमाथि कुटपिट, गैरकानुनी रूपमा नियन्त्रणमा राख्ने, सहमतिबिना घाँटी थिच्ने, धम्की दिने, अदालतको सुरक्षा आदेश उल्लङ्घन गर्ने र जमानतका सर्त तोड्नेलगायतका आरोप लगाइएको छ। उनलाई जमानत दिन अस्वीकार गरिएको थियो।
ह्यारिस पार्कमा यौन दुर्व्यवहारको आरोप
सिड्नीको पश्चिमी क्षेत्रमा पर्ने ह्यारिस पार्कमा नोभेम्बर १४ मा प्रहरीले ३८ वर्षीय एक पुरुषलाई पक्राउ गरेको थियो।
प्रहरीका अनुसार उनीमाथि घरेलु हिंसासम्बन्धी कुटपिट तथा सहमतिबिना यौन क्रियाकलाप गरेको आरोप लगाइएको छ। उनलाई कडा सर्तसहित जमानत दिइएको छ र डिसेम्बर ८ मा पारामाटा स्थानीय अदालतमा उपस्थित हुन निर्देशन दिइएको छ।
सन् २०२३ देखि हालसम्म ९ हजार ४७८ जना पक्राउ
न्यु साउथ वेल्स प्रहरीले सन् २०२३ देखि सञ्चालन गर्दै आएको विशेष अभियानका विभिन्न चरणमा हालसम्म ९ हजार ४७८ जनालाई पक्राउ गरिसकेको जनाएको छ। यस अवधिमा २० हजारभन्दा बढी आरोप लगाइएको प्रहरीको तथ्यांक छ।
न्यु साउथ वेल्सकी प्रहरी तथा प्रतिआतंकवाद मन्त्री यास्मिन क्याट्लीले तीन दिनमै ठूलो संख्यामा पक्राउ र हतियार बरामद हुनु प्रहरीको सक्रियताको परिणाम भएको बताएकी छन्।
उनले घरेलु तथा पारिवारिक हिंसा समाजका लागि गम्भीर समस्या भएको उल्लेख गर्दै हिंसा रोक्न प्रहरीको कारबाहीसँगै समुदायका सबै पक्षको सहयोग आवश्यक रहेको बताएकी छन्।
प्रहरीका सहायक आयुक्त पिटर म्याककेनाले उच्च जोखिममा रहेका आरोपितलाई पहिचान गर्ने, अदालतका आदेश कार्यान्वयन गराउने र पीडितको सुरक्षा सुनिश्चित गर्ने कामलाई प्रहरीले निरन्तर प्राथमिकता दिने बताएका छन्।
पीडितलाई सहयोग लिन आग्रह
प्रहरीले घरेलु हिंसा भोगिरहेका व्यक्ति तथा परिवारका सदस्यको सुरक्षाबारे चिन्तित व्यक्तिलाई प्रहरीसँग सम्पर्क गर्न आग्रह गरेको छ।
अष्ट्रेलियामा घरेलु हिंसाबाट प्रभावित व्यक्तिले गोप्य परामर्श तथा सहयोगका लागि १८०० ७३७ ७३२ नम्बरमा सम्पर्क गर्न सक्छन्। तत्काल जोखिम वा आपत्कालीन अवस्था भए ००० मा फोन गर्न प्रहरीले अनुरोध गरेको छ।
प्रहरीका अनुसार घरेलु हिंसा केवल पारिवारिक विवाद नभई गम्भीर कानुनी तथा सामाजिक समस्या हो। समयमै उजुरी गर्ने, पीडितलाई सहयोग गर्ने र हिंसाविरुद्ध आवाज उठाउने जिम्मेवारी समुदायका सबै सदस्यको रहेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया