अष्ट्रेलिया आइपुग्यो लोकरक ब्याण्ड ‘नेपथ्य’

अष्ट्रेलिया आइपुग्यो लोकरक ब्याण्ड ‘नेपथ्य’


मेलबर्न अष्ट्रेलिया ।

लोकरक ब्याण्ड नेपथ्य अष्ट्रेलिया आइपुगेको छ। जनवरी २५ (माघ ११) सुरु हुने कन्सर्टमा सहभागि हुन नेपथ्य अष्ट्रेलिया आइपुगेको हो। नेपथ्यले अष्ट्रेलियाका आठ सहरमा कन्सर्ट गर्दैछ।

१३ सदस्यीय टोली शनिबार आइपुगेको नेपथ्यको यो पाँचौ पटक अष्ट्रेलिया सांगीतिक यात्रा हो। नेपथ्यले आगामी जनवरी २५ मा डार्विनमा पहिलो कन्सर्ट गर्दै यो पटकको अष्ट्रेलिया यात्रा सुरू गर्नेछ।

तस्बिरः अमृत गुरुङको फेसबुक पेजबाट

‘मानवताका लागि संगीत’ नामको सांगीतिक अभियान यात्रामा नेपथ्यले हालै एक महिना लामो देशव्यापी यात्रा गरेको थियो। अपेक्षाकृत सफलता सहित सम्पन्न सो यात्राले संगीतको माध्यमबाट मानवता प्रवर्द्धन गर्न सफल भएको जस पाएको थियो ।

सोही सांगीतिक यात्राबाट प्रेरित भएर यो यात्रा गर्न लागेको नेपथ्यका गायक अमृत गुरुङले बताए। उनले भने, ‘सोही यात्राको प्रतिक्रियाबाट प्रेरित भएर सन् २०२३ भरि हाम्रा सबै प्रस्तुतिहरुलाइ ‘मानवताका लागि संगीत’ को नारा सहित मानवता प्रवर्द्धन अभियानको श्रृंखलाको रुपमा प्रस्तुत गर्ने विचार गरेका छौँ।’

चार वर्षअघि चार सहरमा कन्सर्ट गरेको नेपथ्यले यसपटक अष्ट्रिलयाका आठ सहरमा प्रस्तुति दिने छ । नेपथ्य ‘म्युजिक फर ह्युम्यानिटी’ अष्ट्रेलिया टुर २०२३ नाम दिइएको यो सांगीतिक यात्रा जनवरी २५ मा डार्बिनस्थित इन्टरटेनमेन्ट सेन्टरबाट सुरु हुनेछ ।

यस्तै जनवरी २८ तारिखमा एडिलेडस्थित ‘हिण्डले म्यूजिक हल’मा र जनवरी ३१ मा ब्रिसबेनको ‘फोर्टिच्यूड म्यूजिक हल’ मा सम्पन्न भएसँगै चौथो प्रस्तुतिको लागि अष्ट्रेलियाकै केन्द्रीय राजधानी क्यानबेरामा पुग्नेछ।

फेब्रुअरी ३ मा त्यहाँस्थित ‘म्येनिंग क्लार्क हल, काम्ब्री’मा ब्याण्डले प्रस्तुति दिनेछ। यसअघि पाँचपटक अष्ट्रेलियाको भ्रमण गरिसकेको ब्याण्डका लागि राजधानी क्यानबेरामा भने यो पहिलो अनुभव हुनेछ।

पाँचौँ कन्सर्टका लागि ब्याण्ड ‘वेस्टर्न अष्ट्रेलिया’ राज्यको राजधानी पर्थ सहर पुग्नेछ। फेब्रुअरी ५ मा ब्याण्डले त्यहाँस्थित ‘मेट्रो सिटी हल’मा प्रस्तुति दिनेछ। त्यसपछि भने फ्रेबुअरी १० मा सिड्नीमा ब्याण्डले आफूलाई ‘होडर्न पभिलियन’मा प्रस्तुत गर्नेछ।

सिड्नीपछि नेपथ्यको यात्रा ‘भिक्टोरिया’ राज्यतर्फको हुनेछ। उक्त राज्यको राजधानी मेलबर्नमा ब्याण्डले १३ फेब्रुअरीका दिन आफूलाई प्रस्तुत गर्नेछ। त्यसपछिको नेपथ्यको अन्तिम कन्सर्ट फेब्रुअरी १७ होबार्टस्थित ‘ओडियन थिएटर’मा आयोजना हुनेछ।

पूर्वनिर्धारित आठवटा कार्यक्रम प्रस्तुत गरेर फेब्रुअरी २० मा टोली नेपाल फर्कने योजना रहेको छ। अमृतलाई यो यात्रामा पनि सधैँजस्तै ड्रममा ध्रुव लामा, किबोर्डमा सुरज थापा, गितारमा निरज गुरुङ, बेस गितारमा सुविन शाक्य र मादलमा शान्ति रायमाझीले साथ दिने छन्।