सल्यानमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु

सल्यानमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु


काठमाडौं, २१ कात्तिक । सल्यानको कपुरकोटमा भएको बस दुर्घटनामा १२ जनाको मृत्यु भएको छ । सल्यान सदरमुकाम खलंगाबाट दाङको तुल्सीपुरतर्फ गइरहेको ना. १ ख १५५२ नम्बरको बस आइतबार ११ बजेतिर कपुरकोट गाउँपालिका–५ स्थित खारखोलामा पल्टिँदा १० जना महिला र दुई जना पुरुष गरी १२ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मृत्यु हुनेमा सल्यानको शारदा नगरपालिका–१२ हाल दाङको तुलसीपुर उपमहानगरपालिका–६ का ५३ वर्षीया प्रभा चलाउने, शारदा नगरपालिका–२ कि ६१ वर्षीया मीना डाँगी, सल्यान शारदा नगरपालिका–३ कि ६६ वर्षीया लीला बुढाथोकी, त्रिवेणी गाउँपालिका–१ काभ्राकी २४ वर्षीया मीना शाही रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
यसैग्री दाङको बबई गाउँपालिका–४ कि ६० वर्षीया डुली रेउले, सोही गाउँपालिका–६ की ७० वर्षीया कलावती बुढाथोकी, दाङको घोराही उपमहानगरपालिका नारायणपुरकी ६५ वर्षीया इन्द्रा अधिकारी, सल्यानको छत्रेश्वरी गाउँपालिका–२ का २९ वर्षीय तिलक वली, दाङ शान्तिनगर गाउँपालिका–८ कि ३५ वर्षीया सावित्रा केसी र दाङ कोरवाङकी पाँच वर्षीय सुरज ओली रहेको जिल्ला प्रहरीले जनाएको छ । अरु २ जनाको सनाखत भएको छैन । घटनास्थलमा ६ जनाको र अस्पतालमा ६ जनाको मृत्यु भएको हो । दुर्घटनामा कम्तीमा १८ जना घाइते भएका प्रहरीले बताएको छ । घाइतेमध्ये गम्भीर अवस्थाका ७ जनालाई उपचारका लागि नेपालगञ्ज पठाइएको छ । अरु घाइतेको श्रीनगर र खलंगाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।