मापसे गरेर दुर्घटना गराउने भिक्टोरियाका सांसदले राजनीतिबाटै सन्यास लिने !

मापसे गरेर दुर्घटना गराउने भिक्टोरियाका सांसदले राजनीतिबाटै सन्यास लिने !



मेलबर्न, अष्ट्रेलिया ।

भिक्टोरियाका लिबरल सांसद टिम स्मीथले अर्को निर्वाचनबाट राजनीतिबाटै बिदा लिने घोषणा गरेका छन् । मादक पदार्थ सेवन गरेर गाडी चलाएको बेला दुर्घटना भएको थियो । यससँगै उनको तिव्र आलोचना भएपछि उनले माफी माग्दै राजनीतिबाट सन्यास लिने घोषणा गरेका हुन् ।

यसअघि उनले छायाँ मन्त्रिपरिषदबाट पनि राजीनामा गरेका थिए । अघिल्लो शनिबार राति सडक दुर्घटनामा परेपछि उनको परीक्षण गर्दा तोकिएको भन्दा दोब्बर बढी मापसे सेवन गरेको पाइएको थियो ।

स्मीथले जारी गरेको विज्ञप्तिमा आफुलाई धेरैको सद्भाव प्राप्त भएपनि यसले पार्टीलाई हित नहुने देखेर आगामी निर्वाचनमा कीउ क्षेबाट निर्वाचन नलड्ने निर्णय गरेको बताएका छन् । उनले आफुलाई हरेक समयमा साथ दिने सबैप्रति आभार व्यक्त गरे । उनले आफ्ना मतदाताहरुसँग माफी माग्दै घोषणा गरिरहँदा भिक्टोरियाका विपक्षी दल लिबरलका नेता म्याथ्यू गाई यो घटनाबाट निकै आक्रोशित भएको समाचार सार्वजनिक भएको थियो ।

उनले नै स्मीथलाई अर्को निर्वाचनमा भाग नलिन भनेका थिए । तर, अहिलेसम्म स्मीथले यस विषयमा निर्णय नगरेको बताउँदै आएका थिए । ३८ वर्षीय सांसद स्मीथले आफु मूर्ख भएको र हालसम्मकै खराब समयबाट गुज्रिएको बताएका छन् । उनले आफु सार्वजनिक जीवनमा रहँदा कहिल्यै मदिरा सेवन नगर्ने कसम पनि खाएका छन् ।

विपक्षी नेता म्याथ्यूले अर्को निर्वाचनबाट राजनीतिबाटै बाहिर हुने स्मीथको निर्णय स्वागतयोग्य बताएका छन् । उनले निर्णय गर्न कठीन भएपनि यो सम्मानयोग्य भएको बताएका हुन् ।